सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका दुइटा निर्णय प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सार्वजनिक गरेका छन्।
मन्त्रिपरिषदका निर्णय हरेक बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै आए पनि अर्यालले दुइटा निर्णय आजै सार्वजानिक गरेका हुन्।
सबै तहका सरकारको पहलमा शिक्षा मन्त्रालयद्वारा विद्यार्थी भर्ना अभियान चलाउने र सगरमाथा डायलग: अन्तराष्ट्रिय महत्वको समसामयिक विषयमा छलफल चलाउन स्थायी मञ्च बनाउने निर्णय भएको अर्यालले जानकारी दिए।
सरकारले २०६१ सालदेखि यता हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरू हुनुपूर्व विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ। गत वर्ष प्रधानमन्त्रीदेखि नेतासम्मले विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना गरेका थिए।
अझै ९० हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर छन्। विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना गरी शिक्षा दिने सरकारको तयारी छ। विद्यालय भर्ना भएका अधिकांश बालबालिका अन्तिम परीक्षा दिने बेलासम्म टिक्दैनन्, बीचैमा कक्षा छाड्छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्यातऔं’ भन्ने नारासहित विद्यार्थी भर्ना अभियानलाई सघाउन सबैमा अपिल गरेका छन्।
हरेक नागरिकले माध्यामिक शिक्षासम्म नि:शुल्क पढ्न पाउने हक संविधानमै उल्लेख छ। विद्यालय टाढा हुँदा, कापी, कलम तथा पोशाक खरिद गर्न नसक्नेजस्ता कारणले पनि विद्यार्थी विद्यालय शिक्षाबाटै बञ्चित हुनुपरेको छ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यार्थी भर्ना अभियान महत्वपूर्ण ढोका रहेको भन्दै सरकारले अभियान नै सञ्चालन गरेको हो।
‘विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षकसँगै विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी/गैरसरकारी क्षेत्र सबैमा रहेको छ,’ मन्त्री पोखरेलले भनेका छन्।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगबाट संघीय शिक्षा नीति मार्गदर्शन प्रतिवेदनसमेत तयार भएको मन्त्रालयले जनाएको छ। ‘विद्यार्थी भर्ना अभियानसँगै सरकारी विद्यालय सुधार र रुपान्तरणको अभियानमा जुट्छौं,’ मन्त्री पोखरेलले भनेका छन्, ‘१० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजना, हरित, नमूना, प्राविधिक विद्यालय, अभिभावक सचेतना कार्यक्रमसँगै साक्षर नेपाल घोषण तयारी भइरहेको छ ।’