२ सय ४८ जना व्यक्तिहरूलाई भिजिट भिसामा वैदेशिक रोजगारका लागि पठाई २४ लाख ८० हजार भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरूद्ध मुद्दा दायर गरिएको छ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ११ अध्यागमन अधिकृत र २ कम्प्युटर अपरेटरविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
साउन १५ गते अध्यागमन कार्यालयमा करिब २० जना महिला यात्रीहरूलाई कुनै कागजातहरू रुजु नगरी अध्यागमन प्रस्थान गर्न अनुमति दिएको आयोगमा उजुरी आएको थियो। त्यही उजुरीको आधारमा आयोगले अनुसन्धान थालेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
विमास्थलका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीले प्रयोग गर्ने सम्पर्क नम्बरको आधारमा पठाइएका एसएमएस तथा कल रेकर्डका आधारमा तथ्यहरू संकलन गरेको आयोगले जनाएको छ।
आयोगले १३ जनाको मिलेमतोमा २४८ जना प्रत्येक व्यक्तिसँग १० हजारका दरले घूस लिएको पाइएको विज्ञप्तिमा उल्लेख छ।
अध्यागमन अधिकृतहरू कमल प्रसाद पराजुली, मनहरी बराल, दिनेश के.एम, तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, जगदिशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी,पदम प्रसाद बजगाई, दुई कम्युटर अपरेटर रोशन गोतम र भोज प्रकाश न्यौपानेविरूद्ध आरोप पत्र दायर भएको हो।
अन्य संलग्न देखिन सक्ने शंकास्पद व्यक्तिहरूमाथि पनि थप अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।