प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक क्षेत्रमा भारतसँगको सीमा विवादबारे उत्तरी छिमेकी चीनसँग पनि कुरा भइसकेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लिपुलेक क्षेत्रमा भारतले सडक बनाएकोबारे नेपाली अधिकारीले चिनियाँ पक्षसँग कुरा गरेको बताए।
‘हाम्रा अधिकारीहरूले चीनसँग कुरा गरिसकेका छन्। उनीहरूले पनि आफूले भारतसँग गरेको सम्झौता सीमाका बारेमा नभई मानसरोवरको तीर्थयात्राका लागि गरिएको बताएका छन्,’ प्रधानमन्त्री ओलीले भने,‘उनीहरूले त्यही कुरा भारतलाई पनि भनिसकेका छन्।’
प्रधानमन्त्री ओलीले लिपुलेक फिर्ता ल्याउने विषयमा भारतसँग सौहार्दपूर्ण रूपमा वार्ता गरिने बताए।
‘अहिले त मित्रभन्दा पनि हाम्रो जमिन मिचेको छजस्तो लाग्छ। हामी त्यो समस्या हल गरेर भारतसँग सुमधुर सम्बन्ध बनाउन चाहन्छौं,’ ओलीले भने।
उनले भारतको अहिलेको सरकारले लिपुलेकको समस्या सिर्जना नगरेकाले उसले पनि नेपालसँग वार्ता गर्ने विश्वास व्यक्त गरे।