दण्डहीनतालाई प्रश्रय दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य भएको विवेकशील साझा पार्टीले बताएको छ।
बबरमहलकी घरबेटीलाई छुटाउन मन्त्री श्रेष्ठ बुधबार प्रहरी कार्यालय नै पुगेका थिए।
‘जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ आज विवेकशील साझाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री श्रेष्ठले अनुसन्धान नै प्रभावित पारेको स्वीकार्य हुन नसक्ने उक्त पार्टीले बताएको छ।
‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन,’ प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री श्रेष्ठ पदमा बस्न नमिल्ने उनले उल्लेख गरेका छन्।
‘कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन्,’ विज्ञप्तिमा उल्लेख छ।
काठमाण्डौंमा घर भाडामा लिने-दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझाले सरकारसँग माग पनि गरेको छ।
‘घटनाको कानुनी निरूपणमा विश्वास गर्न तथा कुनै पनि जात र समुदाय विशेषविरुद्ध विद्वेष फैलाउने गरी अभिव्यक्ति नदिन हामी सबैलाई अपिल गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
सञ्चारकर्मी रूपा सुनारलाई थरकै आधारमा बबरमहलकी एक घरबेटीले कोठा नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्। घरबेटी बुधबार रिहा भइसकेकी छन्। उनलाई रिहाइ गर्नका लागि मन्त्री श्रेष्ठ पुगेका थिए। श्रेष्ठले आफ्नै गाडीमा राखेर उनलाई घर छाडिदिएका थिए।