सामान्यतया नेपालमा हिउँद याममा ६०.१ मिलिमिटर वर्षा हुन्छ। पोस्ट मनसुन सकिएपछि मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई नेपालमा हिउँद याम भन्ने गरिन्छ।
जल तथा मौसम विज्ञान विभागले गत कात्तिक १५ गते हावापानी र तापक्रम प्रक्षेपण गर्दै यो हिउँद याममा कम वर्षा हुने उल्लेख गरेको थियो।
विभागले यो हिउँद याममा चिसो पनि कम हुने आकलन गरेको छ। अर्थात् यस हिउँद याममा अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी रहने सम्भावना छ।
हिउँद सुरू भएयता एक झर पानी परेको छैन। विभागले वेबसाइटमा अद्यावधिक गरेको सूचना अनुसार पछिल्लो एक महिनामा एक झर पानी परेको छैन।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार गत मंसिर ४ गते बिहान ८ः४५ देखि मंसिर ५ गते बिहान ८ः४५ सम्मको अवधिमा दुइटा केन्द्रमा वर्षा मापन भएको थियो। सबभन्दा बढी ताप्लेजुङ केन्द्रको ताप्लेथोक केन्द्र २ मिलिमिटर वर्षा भएको थियो।
हिउँद याममा वर्षा नभएपछि काठमाडौंसहित देशका प्रमुख सहरमा वायु प्रदूषण बढेको छ। वातावरण विभागको वायु गुणस्तर निगरानी शाखाका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंको रत्नपार्क, भक्तपुर र सुर्खेतको वायुको गुणस्तर संवेदनशील तहमा पुगेको छ।
रत्नपार्क र सुर्खेतको वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्युआई) १५३ मा पुगेको छ। भक्तपुरको एक्युआई १५१ पुगेको छ, जुन वायुको अवस्था संवेदनशील अवस्थाका मानिसका लागि जोखिमपूर्ण हुन्छ।
एक्युआई इन्डेक्स ०–५० सम्म रहँदा स्वच्छ वायु मानिन्छ भने ५१ देखि १०० सम्म हुँदा मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहका लागि अस्वस्थ र ३०१ भन्दा माथि भए खतरनाक तह नजिक पुगेको मानिन्छ।
पानी नपर्दा वन डढेलो पनि बढ्न थालेको छ। अमेरिकी अन्तरिक्ष संस्था नासाको अवलोकन प्रणाली (फायर इन्फरमेसन फर रिसोर्स म्यानेजमेन्ट सिस्टम– एफआइएमआरएस) को पछिल्लो एक साता यताको विवरण हेर्दा नेपालको कर्णाली तथा सुदूरपश्चिम भेगमा वन क्षेत्रमा उल्लेख्य डढेलो लागेको देख्न सकिन्छ।
![FIRMS_2025-12-02_2025-12-31[@84.0,27.7,6.9z]-1767173345.jpg](https://www.setopati.com/uploads/posts/FIRMS_2025-12-02_2025-12-31%5B@84.0,27.7,6.9z%5D-1767173345.jpg)
यद्यपि नेपालको आफ्नै अनुगमन प्रणालमा भने पछिल्लो एक साता अवधिमा जाजरकोटको बारेकोटको ६ र ७ वडा, बझाङ र रूकुम पश्चिमको एकएक स्थानमा डढेलोको घटना समाविष्ट छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले तराई भू–भागका अधिकांश स्थानहरूमा लाग्ने हुस्सु मध्याह्न पछि क्रमिक खुलेको थियो।
आज बिहान ११ः४५ बजेको अद्यावधिक विवरणअनुसार धनगढीको तापक्रम १५.०, नेपालगञ्जको १४.०, भैरहवाको १५.५, सिमराका १२.४, जनकपुरको १४.२, विराटनगरको १४.७, चन्द्रगढीको १४.४ डिग्री सेन्टिग्रेड रहेको थियो।
बुधबार कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना महाशाखाले जनाएको छ।
आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहने प्रक्षेपण छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
मौसमविद विनोद पोखरेलले आजदेखि नेपालमा पश्चिमी वायुको प्रभाव बिस्तारै देखिने बताएका छन्। यसले तराईमा लागेको हुस्सु हटाउन मद्दत गर्ने उनको भनाइ छ।
'हुस्सु लागे पनि दिउँसो हट्ने सम्भावना छ,' सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्।
यसपटक पश्चिमी वायुले हिमाली भेगमा मात्र वर्षा (हल्का हिमपात) गराउने सम्भावना देखिएको छ।
'काठमाडौं लगायत पहाडी भेगमा छिटपुट मात्र वर्षाको सम्भावना देखिएको छ,' उनले भनेका छन्।