राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो समय पार्टीको एजेण्डाको लोकप्रियता र स्वीकार्यता बढ्दै गएको दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयाजित राप्रपा र राप्रपा नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै सो दाबी गरेका हुन्।
उनले एजेण्डाजस्तै देशभर पार्टीको स्वीकार्यता बढाउने गरी संगठित भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ।
उनले राप्रपामा समाहित राप्रपा नेपालका अध्यक्ष कमल थापालाई विगतका कुराहरू सम्झिएर अन्यथा नलिन आग्रह गर्दै अध्यक्षको हैसियतले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले विगतका घटनाहरूलाई नराम्रो सपना सम्झेर बिर्सिदिन समेत आग्रह गरे।
उनले राप्रपाले सामना गर्नुपर्ने चुनौतीहरू थुप्रै रहेको उल्लेख गर्दै ती चुनौतीहरूको सामना गर्न विचार मिल्ने सबै व्यक्ति र समूहलाई एकतामा आउन समेत आह्वान गरे।
अध्यक्ष लिङ्देनले भने,‘पार्टी अध्यक्षको हिसाबले सबैलाई मिलाएर लान्छु। तपाईंहरू कसैले पनि अन्यथा मनमा राख्नु पर्दैन सबैलाई मिलाएर लैजाने जिम्मेवारी मेरो हो। हिजो हामी अलग थियौँ भन्ने कुरा बिर्सनुपर्छ। जीवनमा कहिलेकाहीँ आफै मरेको सपना देखिन्छ तर बिहान उठ्दा केही पनि हुँदैन। त्यसकारण यसलाई पनि नराम्रो सपना मानेर बिर्सिएर जानुपर्छ।’
उनले अगाडि भने, ‘हाम्रा सामु धेरै चुनौतीहरू रहेका छन्। हामी यति मात्रै पर्याप्त छैनौँ ती चुनौतीहरूको सामना गर्नको लागि अहिले देशमा हाम्रो एजेण्डा लोकप्रिय भएको छ। हाम्रो एजेण्डाको लोकप्रियता र स्वीकार्यता पनि बढेको छ। तर त्यही ढंगले पार्टीको स्वीकार्यता पनि बढाउनुपर्नेछ। हाम्रा विचारको समर्थन गर्ने आम मानिसलाई पनि यही जोडेर ल्याउनुपर्नेछ।’
उनले अगामी प्रतिनिधि सभा निर्वाचनमा आगामी प्रतिनिधि सभा निर्वाचनमा राप्रपालाई प्रमुख राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्ने दाबी पनि गरे। –न्युज एजेन्सी नेपाल