पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नगरिएको भन्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले बुधबारदेखि देशभरका पेट्रोलपम्प, ढुवानी ट्याङ्कर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन्।
नेपाल आयल निगमको थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि पाँच विद्यार्थी संगठनको केन्द्रीय नेतृत्वले धर्ना दिएको हो। पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन्।
गत आसार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीचको वार्ता विफल भएपछि दोस्रो चरणको आन्दोलन शुरू भएको अनेरास्ववियू (क्रान्तिकारी )का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।
पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरूद्धको आन्दोलनमा नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं ) छन्।