काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच आइतबार बिहान भएको सातबुँदे सहमतिले नेपाली राजनीतिमा एउटा नयाँ परिदृश्य तयार भएको छ।
आजको समय नेपाली कांग्रेस, नेकपा एमाले, पूर्वमाओवादीसमेत मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी लगायतका परम्परागत दलविरूद्ध वैकल्पिक नयाँ शक्तिका रूपमा उदाएका पार्टी वा समूह सबैजसो रास्वपामा समाहित भएका छन्।
बालेनसँगको एकतापछि रास्वपा यस्तो दल बनेको छ, जहाँ वैकल्पिक राजनीतिका सारा भँगाला एकाकार भएका छन्।
त्यसमाथि बालेन र रास्वपाको सहमतिमा अटाउन नसकेको उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संलग्न प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग सहकार्य निम्ति छलफल बढाएपछि त झन् रास्वपा नै वैकल्पिक राजनीतिको नयाँ भँगालो बन्ने बाटो 'क्लियर' भएको छ।
अघिल्लो निर्वाचनमा भाग लिएर विघटित प्रतिनिधिसभामा चौथो ठूलो दल बनेको रास्वपा वैकल्पिक राजनीतिको भँगालो बन्ने अवस्थामा कसरी पुग्यो त?
यसका लागि हामीले करिब १३ वर्षअगाडि फर्किनुपर्छ।
नेपालमा वैकल्पिक राजनीतिको सुरूआत विवेकशील नेपालीले २०६९ सालमा सुरू गरेको थियो। यसको श्रेय स्वर्गीय उज्ज्वल थापालाई जान्छ।
पुराना राजनीतिक दलका तौरतरिकाबाट वाक्क भएर उज्ज्वलले एउटा वैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण हुनुपर्छ भनी विवेकशील नेपाली दल स्थापना गरेका थिए।
उनी विवेकशीललाई एउटा यस्तो मञ्च बनाउन चाहन्थे, जहाँ उभिएर युवा पुस्ताले मूलधारको राजनीतिप्रति मनमा गुम्सेका असन्तुष्टि पोख्न सकून्। राजनीतिक प्रणालीमा देखिएका कमी–कमजोरी कसरी सच्याउने भनेर चर्चा–परिचर्चा गर्न सकून्। वैकल्पिक राजनीतिक संस्कृतिको अभ्यास गर्न सकून्।
धेरै युवा पुस्तामा राजनीति भनेको फोहोरी दलदल हो र यसमा ओर्लिनु फोहोरमा लतपतिनु हो भन्ने धारणा रहेका बेला युवा पुस्तालाई राजनीतिको फोहोर सफा गरेर मात्र सुसंस्कृत पद्धति निर्माण गर्न सकिन्छ भन्ने सन्देश उज्ज्वलले दिएका थिए।
थापाको व्यक्तित्व सरल र शालिन थियो। कुनै तामझाम थिएन। उनी सार्वजनिक रूपमा धेरै देखिँदैन थिए, तर धेरैका मनमा बसेका थिए।
उनी राजनीतिमा त थिए, तर राजनीतिक महत्वाकांक्षा उनमा थिएन। राजनीति बदल्ने हुटहुटी र दृढता भने थियो। उनी नेपाली राजनीतिका एक मात्र यस्ता व्यक्ति पनि हुन्, जसले शक्ति र सत्तामा कहिल्यै नपुगे पनि मान्छेको साथ खुब कमाए।
नेपाली राजनीतिमा वैकल्पिक 'स्पेस' को वकालत गरेका उज्ज्वलको त्यही अवधारणाबाट प्रभावित भएर धेरै युवा उनीसँग जोडिएका थिए र विवेकशील नेपाली दलमा आबद्ध भएका थिए।
तीमध्ये धेरैजसो युवा आज कहाँ छन्?
उज्ज्वलले वैकल्पिक राजनीतिको अवधारणासहित खोलेको र पछि साझा पार्टीसँग एकता भएर बनेको विवेकशील साझा पार्टी आफ्नो नाम, नेतृत्व, पद, चुनाव चिह्न केही पनि नरहने गरी 'निसर्त' रास्वपामा विलय भइसकेको छ।
यही मंसिर १४ गते रास्वपा र विवेकशील साझा पार्टीबीच पाँचबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो। उक्त सहमतिपछि नेपालमा वैकल्पिक राजनीतिको सुरूआत गरेको विवेकशील नेपालीका बहुसंख्यक युवा रास्वपामा समाहित भएका छन्।
त्यो सँगसँगै, साझा पार्टी हुँदै वैकल्पिक राजनीतिको अवधारणा बोकेर आएकाहरू पनि रास्वपामै मिसिएका छन्।
रास्वपाले पार्टी एकता क्रममा हस्ताक्षर गरेको पाँचबुँदे सहमतिपत्रमै विवेकशील साझाले बोकेर हिँडेको वैकल्पिक राजनीतिको अवधारणालाई आफूले आत्मसात् गरेको आसय व्यक्त गरेको छ।
हस्ताक्षर पत्रमा 'रास्वपाको राजनीतिक सिद्धान्त र नेतृत्व निसर्त स्वीकार्दै निष्ठा र मूल्य-मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व. उज्ज्वल थापा एवं 'विवेकशील अभियान' को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने' कुरा उल्लेख छ।
यति मात्र होइन, विवेकशील साझासँग एकीकरणपछि दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी', चुनाव चिह्न घन्टी र दलको झन्डा पनि साबिककै रहने सहमति गरिएको छ।
व्यक्तिकै कुरा गर्ने हो भने तत्कालीन विवेकशील नेपाली दलमा 'फायर ब्रान्ड' छवि बनाएकी रञ्जु दर्शना आफू पनि पार्टी एकतासँगै रास्वपामा आबद्ध भइसकेकी छन्।
यो त भयो वैकल्पिक राजनीतिको एउटा धार रास्वपामा समाहित भएको कुरा।
अब कुरा गरौं दोस्रो वैकल्पिक धारको — बालेन शाह।
पछिल्लो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएयता बालेन शाह वैकल्पिक राजनीतिका एक प्रभावशाली केन्द्र हुन्।
मेयरका रूपमा उनले गरेका कार्यसम्पादनमाथि थुप्रै प्रश्न उठेका छन्। खासगरी सडक व्यवसायीलाई लखेटेर उनीहरूको रोजीरोटी खोस्दै पेटमा लात हान्नेदेखि आमजनताको घरमा गैरकानुनी डोजर चलाउने उनका कदम आलोचित छन्। उपत्यकाभित्रै ललितपुर र भक्तपुरले पछिल्ला तीन वर्षमा जे–जति काम गरेका छन्, त्यसको दाँजोमा काठमाडौं महानगरपालिका विकास निर्माणमा निकै पछाडि छ।
आफ्नो कामभन्दा 'मिथकीय' प्रस्तुतिका कारण चर्चामा रहँदै आएका भए पनि बालेन आजको समय युवा पुस्तामाझ लोकप्रिय अनुहार हुन्। कुनै पनि किसिमको भ्रष्टाचार वा आर्थिक अपचलनमा नमुछिएकाले पनि उनलाई नेताका रूपमा धेरैले रूचाएका छन्।
आफ्नो स्वच्छ र अरू नेताभन्दा फरक छविकै कारण भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नवयुवाहरूले बालेनलाई नै प्रधानमन्त्रीका रूपमा पहिलो छनौट गरेका थिए। त्यति बेला उनले प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेपछि नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारिएको थियो।
बालेनले सामाजिक सञ्जालमार्फत् कार्कीको नाम 'अनुमोदन' गरेपछि जेनजी युवाहरू पनि त्यसमा सहमत भएका थिए।
यति जबर्जस्त क्रेज भएका र जेनजी आन्दोलनपछि नवयुवाहरूले वैकल्पिक राजनीतिको केन्द्रमा राखेका बालेन शाह पनि रास्वपामा समाहित भएका छन्।
आइतबार बिहानको सहमतिअनुसार रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनसँग एकता गरेको छ। यो एकतासँगै बालेनमा निहित वैकल्पिक राजनीतिको शक्ति सर्लक्कै रास्वपातिर सरेको छ।
जेनजी आन्दोलनपछि उदाएको अर्को वैकल्पिक राजनीतिक शक्ति भनेका नवयुवा हुन्। यसमा रक्षा बम, युजन राजभण्डारी, प्रदीप ज्ञवाली, पुरूषोत्तम यादव लगायतको नाम आउँछ।
बालेनले फागुन २१ को निर्वाचनलाई लक्ष्य गरेर सुरू गरेको राजनीतिक संवाद क्रममा यी जेनजी युवासँग पनि पटक पटक छलफल गरेका थिए। रक्षा बमलाई त उनले जेनजी युवाहरूलाई आफ्नो समूहमा आबद्ध गराउने संयोजक नै बनाएका थिए।
जेनजी समूहमा २५ वर्ष उमेर पूरा भएकाहरूलाई निर्वाचनमा उम्मेदवार बनाउने पनि बालेनले बताएका छन्। 'सबैलाई कसरी जिम्मेवारी दिने भन्ने विषयमा छलफल पनि गरौंला,' बालेनले जेनजीहरूलाई भनेका थिए।
यो अवस्थामा बालेनले रास्वपासँग गरेको एकतापछि जेनजी युवाहरूमा निहित वैकल्पिक राजनीतिको शक्ति पनि अब रास्वपामै समाहित हुनेछ।
अहिले बालेन र रास्वपा सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि छुट्टाछुट्टै समानुपातिक सूची तयार गरिरहेका छन्। मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहका अनुसार दुवै पक्षले आ-आफ्नो सूची बनाउने सहमति भएको छ।
त्यसपछि क्षमता, विषयगत विज्ञता र जेनजी आन्दोलनलाई सम्बोधन गर्ने गरी कसलाई पठाउँदा उपयुक्त हुन्छ त्यस्ता व्यक्तिलाई अन्तिम सूचीमा राख्ने सहमति भएको उनले बताएका छन्।
यसमा बालेन तर्फबाट समानुपातिक सूचीमा धेरै जेनजी युवाहरूको नाम प्रस्ताव हुन सक्ने स्रोत बताउँछ।
यसअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि तत्कालीन माओवादी पार्टी छाडेर वैकल्पिक राजनीति भन्दै 'नयाँ शक्ति' को सुरूआत गरेका थिए। तर उनको प्रयासले कुनै परिणाम दिन सकेन।
त्यसबाहेक उनले रास्वपासहित विभिन्न राजनीतिक दल, समूह र अभियानीहरूसँग छलफल गरेर वैकल्पिक शक्ति निर्माणको प्रयास पनि थालेका थिए। त्यही प्रयास स्वरूप प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) निर्माण गरिएको भए पनि त्यसले वैकल्पिक राजनीतिक छवि बनाउन सकेको देखिन्न।
त्यसैले आजको समय वैकल्पिक राजनीतिका तीन प्रमुख धार — विवेकशील साझा, बालेन र जेनजी समूह — लाई आफूमा समाहित गराएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक राजनीतिको नयाँ भँगालोका रूपमा उभिएको छ।
***