पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले आफूलाई स्थानहद तोकिएको र राहदानीसमेत रोक्का गरेको विषयमा जानकारीसमेत नदिइएको बताएका छन्।
भदौ २२ र २३ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा सोमबार लिखित बयान दिएका लेखकले आफू विधिको शासनअनुरूप चल्नुपर्छ भन्ने मान्यतामा रहेको पनि बताए।
‘लोकतन्त्रमा मुलुक, संविधान र अन्य प्रचलित कानून अनुसार विधिको शासनको मान्यता अनुरुप चल्नु पर्दछ भन्ने विषयमा मेरो अटल विश्वास छ। मैले वडो दुःखका साथ भन्नु परेको छ, आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना पूर्व म समेतलाई काठमाडौं उपत्यका भित्र स्थानहद गरेको र राहदानी रोक्का गरेको मैले सञ्चार माध्यम मार्फत जानकारी पाएँ। मलाई देशको संविधान वा अन्य प्रचलित कानूनको कुन व्यवस्था अनुसार, के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि, किन स्थानहद र राहदानी रोक्का गरेको हो, कुनै लिखित वा मौखिक जानकारीसम्म दिइएको छैन,’ उनले भने।
साथै आफूलाई यसबारे सोध्ने वा जवाफ दिने मौका नै नदिइएको पनि बताएका छन्।
‘यो विषय निर्णय गर्नु पूर्व र पछि पनि मैले विधिवत रुपमा जानकारी पाउनु पर्ने कुरा विधिको शासन र स्वच्छ सुनुवाइको सिद्धान्त भित्र नै पर्ने हो भन्ने मलाई विश्वास थियो तर त्यो भएन। बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्थाविपरित समेत हुन्। तसर्थ यसतर्फ आयोग र सरकारसहित सबै निकायलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’ लेखकले भने।
पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनमा बल प्रयोग गर्न आफूले आदेश नदिएको र यस्तो आदेश दिने कानुनसमेत नरहेको उनले बताए।
जेनजी आन्दोलनका क्रममा आफ्नो घरलगायत निजी सम्पत्तिमा पनि आगजनी भएको उनको भनाइ छ।
‘काठमाडौंको घर पनि पैतृक सम्पत्ति समेतको आर्जनबाट बनाइएको हो। पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा 'खुकरीको मार अचानोलाई मात्र थाहा हुन्छ' भने जस्तै भएको छ,’ उनले भने, ‘भाद्र २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन मेरो बृद्ध र अक्सिजन लिइरहनु पर्ने सिकिस्त विरामी आमालाई लामो समय अक्सिजनबिना नै राखी अस्पताल पुऱ्याउनु परेको कारणले केही दिनपछि दिवंगत हुनुभयो। दश वर्षे शसस्त्र द्वन्द्वपछि तत्कालीन सरकार (सात दल) र माओवादीबीच भएको शान्ति वार्ता, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणका क्रममा भएका औपचारिक, अनौपचारिक वार्ता, सम्वाद, छलफल वा सहमतिमा म स्वयं संलग्न भई गरेका टिपोट र संकलन गरिएका महत्त्वपूर्ण दस्तावेजसहित झण्डै पाँच हजार पुस्तक तथा ऐतिहासिक दस्तावेज जलेर नष्ट भए। तैपनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु।’