राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताएकी छन्।
बुधबार लोक सेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै राष्ट्रपति भण्डारीले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहनालाई सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताइन्।
उनले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरूप कर्तव्य पालन गर्नसक्ने मानवस्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रुपमा रहेको लोक सेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्ने बताइन्।
‘नयाँ युगका नयाँ चाहनालाई सामना गर्नसक्ने गरेर आफूलाई निरन्तर रुपमा सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ। ठूलो राजनीतिक परिवर्तन पश्चात मुलुक अब क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको छ’, उनले भनिन्, ‘जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामती सहितका सरकारी संयन्त्रमा रहेकाले सोही अनुरूप जनशक्ति छनोट गर्नु अत्यावश्यक हुन जान्छ।’
राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय, क्षमतायुक्त, ईमान्दार, कर्तव्यनिष्ठ र दक्षता सहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान पुर्याउन आवश्यक रहेको बताइन्।
‘जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र सोही अनुरूप कर्तव्य पालन गर्नसक्ने मानव स्रोतको पहिचान गरी सरकारी सेवालाई बलिया बनाउने अधिकार प्राप्त संवैधानिक अंगको रूपमा रहेको लोक सेवा आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्छ’, उनले भनिन्, ‘चुस्त व्यवस्थापकीय क्षमतायुक्त, ईमान्दार, कर्तव्यनिष्ठ र दक्षता सहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको यथेष्ट ध्यान जाने अपेक्षा गरेको छु।’