पूर्वसभामुख ओनसरी घर्तीले निर्वाचनमा पराजित हुँदैमा मुलुक र जनताप्रतिको जिम्मेवारी समाप्त नहुने बताएकी छन्।
काठमाडौं-२ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमलाई बधाई दिँदै उनले यस्तो बताएकी हुन्।
‘निर्वाचनमा जित-हार स्वाभाविक प्रक्रिया हो। यसलाई मैले स्वाभाविक लिएकी छु। आवधिक निर्वाचनमा एक पटकको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हुँदैन र हुन पनि सक्दैन,’ घर्तीले भनेकी छन्।
आगामी दिनमा काठमाडौं-२ मा नै क्रियाशील हुने प्रतिबद्धता उनले गरेकी छन्।
मतदातासँगको वाचा अनुसार यही भूगोललाई कर्मथलो बनाउने उनको भनाइ छ।
काठमाडौं क्षेत्र नम्बर २ मा उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतमसँग पराजित भएकी हुन्।
घर्तीले ९४४९ मत ल्याएर चौथो भएकी छन्। निर्वाचित गौतमले १५ हजार २ सय २९ मत ल्याएकी छन्।