नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनताले दिएको म्यान्डेट अनुसार सत्तारुढ दलहरुले मिलेर सरकार बनाएको बताएका छन्।
अलगअलग विचार र सिद्धान्त भएपनि जनताले दिएको म्यान्डेटलाई आत्मासात गरेर आफूहरुले मिलेर सरकार बनाउनु परेको उनको भनाई थियो।
आफूसहित पार्टीबाट बनेका नवनियुक्तमन्त्रीसहित पशुपतिनाथ दर्शन गर्न पुगेका उपप्रधानमन्त्री लिङदेनले नेपाली जनताले कुनै एक पार्टी, विचार वा सिद्धान्तलाई विश्वास नगरेपछि दलहरुले मिलेर सरकार बनाउनु परेको समेत स्पष्ट पारे।
उनले शुभ कार्य गर्नु अघि देवीदेवताको दर्शन गर्ने चलन अनुसार नै आफूहरुले पदभार ग्रहण गर्नुअघि पशुपतिनाथको दर्शन गरेको उल्लेख गरे।
‘पहिलो त, हाम्रो आस्थाको कुरा हो। हामी ईश्वरमाथि, भगवानमाथि, सनातन परम्परामाथि विश्वास गर्छौं । र, कुनै पनि शुभकार्य गर्न भन्दा अगाडि र पछि पनि त्यसको स्थायित्वको लागि कुनै पनि कर्म गरिसकेपछि त्यसको स्थायित्वको लागि पनि हामीले आफ्ना पितृहरुलाई, आफ्ना भगवानहरुलाई सम्झने हाम्रो सनातन परम्परा छ। सोही बमोजिम पशुपतिनाथको दर्शन गरेर आफ्नो काम प्रारम्भ गर्नु राम्रो हुन्छ, शुभ हुन्छ भन्ने ठानेर हामी पशुपति दर्शन गर्न आएको हौं’, उनले भने।
उनले सत्तारुढ दलहरुले मुलुकको आवश्यकता अनुसार ठिक ढंगले सहकार्य गरेको र कुनै पनि खालको नराम्रो काम आफूहरुको तर्फबाट नहुने दाबी समेत गरे।
‘अहिलेको संसदमा सिद्धान्त मिल्ने मात्रैको त कसैको पनि सरकार बन्ने अवस्था नै छैन। जनताको आदेश नै अहिलेको संसदीय निर्वाचनमा यस्तो भयो कि कुनै एउटा राजनीतिक पार्टीमाथि मात्रै, कुनै एउटा विचारमाथि मात्रै जनताको विश्वास रहेन’, उनले भने, ‘जनताले तिमीहरू मिलेर काम गर्नुपर्यो। तिमी अलगअलग पार्टीहरु, अगलअगल विचारका मानिसहरु अहिले आफ्नो विचारभन्दा, सिद्धान्तभन्दा देश र जनतालाई केन्द्रमा राखेर खासगरी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँ उभिएर मिलेर जाने म्यान्डेट प्राप्त भएको छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री लिङदेनले आफ्नो दलको विचार वा सिद्धान्तभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा एक ठाउँ उभिएर मिलेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
‘अहिले जुन सहकार्य हामीले प्रारम्भ गरेका छौं । त्यसमा पनि अलगअलग विचार, अलगअलग दृष्टिकोण भएका भएर पनि मैले अघि भनेको मुद्धामा एक भएर देशलाई अस्थिरताबाट जोगाउने, राष्ट्रियतालाई मजदुत बनाउने, सुशासन कायम गर्ने, विकासलाई तीव्रता दिने, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने भनेर हामीहरु एकठाउँ भएका छौं । यो कुनै पनि प्रकारको बेमेल प्रकारको सहकार्य होइन । हामीले अहिले देशको आवश्यक्ता अनुसार ठिक ढंगले यो सहकार्य गरेका छौं । हामी कुनै पनि काम नराम्रो गर्दैनौै,’ उनले भने।
उपप्रधानमन्त्री लिङदेनले आफूले रोजाई अनुसारकै मन्त्रालय पाएको समेत बताए।