सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहित अघि बढेको बताएकी छन्।
सोमबार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेस गर्न बाँकी मिडिया विधेयकहरूलाई सरकारले तत्काल अगाडि बढाउने कार्ययोजनामा रहेको बताएकी हुन्।
उनले त्यसको लागि तत्काल सरोकारवाला निकायहरूले आवश्यक सल्लाह सुझाव मन्त्रालयलाई दिन पनि आग्रह गरिन्।
उनले आमसञ्चार क्षेत्रका लागि बनेका कानूनहरू अधिकांश पुराना भएकाले वर्तमान अवस्थाका आधारमा कानूनहरू परिमार्जन गर्न आवश्यक रहेको र सरकार सकारात्मक रहेको बताइन्।
मन्त्री शर्माले आमसञ्चार क्षेत्रलाई आवश्यक ऐन, कानून बनाउँदा सरोकारवाला निकायहरूसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताइन्। उनले आमसञ्चार क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुनु भनेको राज्यको सबलीकरण हुनु सरह रहेको बताइन्।
उनले भनिन्,‘आमसञ्चार क्षेत्रका विज्ञहरूको समेत सुझाव लिएर सरकारलाई मिडिया विधेयकका बारेमा तत्काल सल्लाह सुझाव दिन आग्रह गर्दछु। सरकारले संसदमा पेस भएर बसेको मिडिया विधेयकहरू अगाडि बढाउने कार्ययोजना बनाएर अगाडि बढ्ने तयारीमा छौं। मिडिया र आम सञ्चारको क्षेत्रलाई आवश्यक ऐन कानून र अन्य काम गर्दा सरकार र सरोकारवाला निकायहरू सहकार्यमा अगाडि बढ्न सरकार तयार रहेको छ। आम सञ्चारको क्षेत्र एउटा महत्वपूर्ण क्षेत्र हो। यो क्षेत्रको विकास, समृद्धि र सबलीकरण हुने राज्यको सबलीकरण हुनु हो।’
उनले देशको राजनीतिक परिवर्तन र पत्रकारिता अभिन्न अंगका रूपमा जोडिएको भन्दै राजनीति र पत्रकारिता सहकार्यले मात्रै मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव भएको धारणा राखिन्।
‘देशको राजनीतिक परिवर्तन राजनीति र पत्रकारिता अभिन्न अंगका रूपले जोडिएको छ। राजनीति र पत्रकारिता जोडिएको थिएन भने ठूला–ठूला राजनीतिक परिवर्तन सम्भव थिएन। राजनीतिक परिवर्तनमा काँधमा काँध मिलाएर मिडिया सकारात्मक नहुँदा के हुन्छ र नकारात्मक रूपमा रोल गर्दा कस्तो असर पर्छ भन्ने कुरा हामीले भोग्दै आएको कुरा हो। त्यसैले मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्छ। नकारात्मक विषयमा आलोचनात्मक रूपमा लेख्ने र सकारात्मक विषयलाई सकारात्मक भएर लेख्ने विषयमा सहकार्य गरेर अगाडि बढ्दा सरकारलाई कुनै बेफाइदा गर्दैन। आलोचनाले कसैलाई पनि बेफाइदा गर्दैन,’ उनले भनिन्।
उनले मिडिया सकारात्मक हुँदा मात्रै परिवर्तन सम्भव रहेको भन्दै मिडिया र सरकार सकारात्मक रूपमा जोडिएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताइन्। उनले नकारात्मक विषयमा आलोचना गर्दा कसैलाई बेफाइदा नहुने बताइन्।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९, १३:५१:१३