प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चोरी पैठारी नियन्त्रण गर्न नसकेको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भन्सारबाटै चोरी पैठारी हुँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाएका हुन्।
भन्सार छलेर खसी-बोकाहरू चोरी पैठारी भइरहेको उनले बताए। जसकारण लक्ष्यअनुसारको राजश्व उठ्न नसकेको उनको भनाई थियो।
‘खसी, बोका ट्रकका ट्रक आउँछ। यो कुनै मुख्य भन्सारबाट होइन। मुख्य बाटोबाट होइन। अरू बाटोबाट आएको आएकै छ। मुख्य बाटोबाट पनि आउँछ,’ उनले भने, ‘किनभने देउरालीमा पाती राख्नुपर्छ। देउरालीमा पाती चढाउने, ट्रक पास। किन राजश्व उठदैन? त्यतापट्टी म अहिले जान चाहन्न। सच्याउनुपर्ने थुप्रै कुरा छ। मैले आफ्नो समयमा सच्याउन खोजेको थिएँ।’
यस्तै उनले विद्युत मुलुकका लागि पर्याप्त नभएपनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘अहिले उद्योगहरूले विद्युत पाएका छैनन्। के भन्छ भने सबस्टेशनहरू छैन। त्यसकारण विद्युत सप्लाई गर्न सकिएन। विराटनगर, वीरगञ्ज, भैरहवाका उद्योगहरू, अरू ठाउँका उद्योगहरूले पाएका छैनन्। उनीहरूले अहिले पनि विद्युत मागी राखेका छन्,’ उनले भने, ‘हामीलाई पुग्दो विद्युत उत्पादन भएको छैन। पुग्दो विद्युत उत्पादन भएपनि अर्को उपभोग गर्ने तरिका पनि सिकाएका छैनौं।’