पातमा हिँडिरहेको सुँडीकीरा (झुसिल्किरा) देख्दा हामी झस्किन सक्छौं। त्यसलाई पन्छाउन मन लाग्छ। तर त्यही बोटमा एउटा पुतली आएर बस्यो भने केही बेर रोकिन्छौं। उडेर नजाओस् भन्दै बिस्तारै तस्बिर खिच्छौं।
हामीले मन पराएको त्यो पुतलीले पनि आफ्नो जीवनको एउटा चरण सुँडीका रूपमा बिताएको हुन्छ। कोषावस्था पार गरेपछि त्यही जीव पखेटा फिँजाएर उड्न थाल्छ। अघि कुरूप लागेको जीवको स्वरूप अब सुन्दर देखिन्छ।
एउटै जीवनका यी दुई अवस्थाप्रति हाम्रो व्यवहार किन यति फरक हुन्छ? के तिनले पुर्याउन सक्ने हानिले मात्रै हाम्रा प्रतिक्रिया बनेका हुन्? कि एउटालाई घिनलाग्दो र अर्कोलाई सुन्दर देख्ने हाम्रो आँखाले तिनको जीवनको मूल्य पनि फरक बनाइदिएको हुन्छ?
मानिससँगको सम्बन्धमा पनि हामी कति छिटो प्रतिक्रिया जनाउँछौं? कसैको अनुहार, बोल्ने शैली वा उसले मान्ने विचारले हामीलाई असहज बनाउँछ। त्यो अनुभूति वास्तविक हुन्छ। तर त्यसबाट हामीले निकालेको निष्कर्ष पनि उत्तिकै सही हुन्छ भन्ने के छ?
कसैलाई मन नपर्नु र ऊ खराब हुनुबीच दुरी हुन्छ। कहिलेकाहीँ हामीले त्यो दुरी पार गरेको थाहै पाउँदैनौं। आफ्नो अरूचि उसको दोषको प्रमाण बन्न थाल्छ। अनि प्रश्न ऊ किन मन परेन भन्नेमा मात्रै सीमित रहँदैन। ऊ सधैं मन नपरी रहन्छ।
सन् १८२६ मा बेलायती लेखक विलियम ह्याजलिटले आफ्नै मनका यस्ता असहज पक्षहरूसँग घोत्लिन बाध्य बनाउने एउटा निबन्ध 'घृणा गर्नुको आनन्द' लेखेका छन्। यो निबन्ध उनको कोठाको भुइँमा हिँडिरहेको एउटा माकुरोबाट सुरू हुन्छ। उनी त्यसलाई मार्दैनन्। बरू निस्किन सघाउँछन्। तर त्यसप्रतिको अरूचि भने बाँकी रहन्छ।
यो सानो प्रसंगबाट ह्याजलिट व्यवहार र भावनाबीचको दुरी खोतल्छन्। त्यहाँबाट उनी धर्म, देशप्रेम र मित्रताका प्रसंगतिर जान्छन्। अरूका दोष केलाउँदा, आफ्नो पक्षलाई सही ठहर्याउँदा वा साझा शत्रुको कुरा गर्दा मानिसहरूले पाउने सन्तोष देखाउँछन्।
ह्याजलिटलाई पढ्दा आफ्नै मनबारे सोध्न बाँकी रहेका केही प्रश्नले गिज्याइरहेको भान हुन्छ। कसैलाई मन नपराउनुको कारण खोजिरहेका हामीलाई उनी त्यसबाट पाइरहेको सन्तोषतिर पनि हेर्न लगाउँछन्।
हामीलाई त्यो मानिस किन मन पर्दैन भन्ने प्रश्नसँगै ह्याजलिट अर्को प्रश्न पनि सोध्न बाध्य बनाउँछन्— उसलाई मन नपराइरहन हामीलाई किन मन पर्छ?
झन्डै दुई सय वर्षपछि मलाई सामाजिक सञ्जालका टिप्पणीहरू पढ्दा यो प्रश्नले झन् झक्झक्याउँछ।
कुनै नेताको भाषणमुनिका प्रतिक्रिया हेरौं। कुनै महिलाले आफ्नो विचार राखेको भिडिओका टिप्पणी पढौं। व्यक्त गरिएको विचारमाथि छलफल हुनुअघि नै बोल्ने मानिसको अनुहार र चरित्रबारे टिप्पणी सुरू भइसकेको हुन्छ। उसले के भन्यो भन्नेभन्दा उसलाई के भन्न सकिन्छ भन्ने होड चलिरहेको हुन्छ।
त्यही भीडमा हामी पनि कतै हुन्छौं। कहिले टिप्पणी लेखिरहेका हुन्छौं। कहिले अरूले लेखेका अभिव्यक्तिमा हाँसिरहेका हुन्छौं। कहिले ट्रोल बनाइएको भिडिओ साथीहरूलाई पठाइरहेका हुन्छौं।
त्यो मानिसको हाम्रो जीवनसँग कुनै प्रत्यक्ष सम्बन्ध नहुन पनि सक्छ। उसले हाम्रो केही बिगारेको पनि हुँदैन। हामीसँग उसको भेटसमेत भएको हुँदैन। तैपनि उसको सफलता मन पर्दैन। उसले पाएको प्रशंसा चित्त बुझ्दैन। उसको कुनै कमजोरी भेटिँदा भने मन प्रशन्न हुन्छ। उसबारे ठोस जानकारी नभए पनि हामी आफ्नै बुझाइका आधारमा टिप्पणी गरिरहेका हुन्छौं।
जसका बारेमा हामीलाई केही थाहा छैन, जोसँग कुनै सम्बन्ध पनि छैन, उसका बारेमा केही सुनेकै भरमा हामी किन उसलाई मन पराउन छाड्छौं?
त्यसैले मलाई सताइरहने प्रश्न हो— हामीलाई किन कोही मन पर्दैन?
के यो मानवीय स्वभाव हो? अशिक्षा र सामाजिक परिवेशको उपज हो? वा सामाजिक सञ्जालको उच्छृंखलता? कि यी सबैको मिश्रण?
यसको उत्तर खोज्नुअघि हामीले व्यक्त गरिरहेका अनुभूतिलाई नै बुझ्नुपर्ने हुन्छ। मन नपर्नु, रिस उठ्नु र घृणा गर्नुबीचको भिन्नता कति तीव्र भावना जाग्छ भन्नेमा मात्रै छैन। अर्को मानिसलाई हामी कसरी हेर्छौं भन्नेमा पनि छ।
कसैलाई मन नपराउनु आफ्नो रूचिको अभिव्यक्ति हो। उसको स्वभावसँग आफ्नो स्वभाव मिल्दैन। ऊसँग समय बिताउन मन लाग्दैन। तर हामीसँग स्वभाव नमिल्नु उसको नैतिक दोष होइन। हामीलाई मन नपरेर पनि ऊ असल मानिस हुन सक्छ। ऊ हामीलाई खुसी बनाउनकै लागि बाँचेको होइन। ऊसँग दूरी राखेर पनि उसको सम्मान गर्न सकिन्छ।
रिस उठ्दा भने प्रायः कुनै अपेक्षा भंग भएको हुन्छ। कसैले अपमान गर्यो। विश्वास तोड्यो। अन्याय गर्यो। उसले त्यसो नगर्नुपर्ने थियो भन्ने लाग्छ। त्यहाँ उसप्रति एउटा माग पनि हुन्छ— आफ्नो गल्ती बुझोस्, जिम्मेवारी लियोस् र व्यवहार बदलोस्।
त्यसैले माया गर्ने मानिससँग पनि रिस उठ्छ। कहिलेकाहीँ माया भएकैले बढी रिस उठ्छ। उसले आफूलाई बुझिदेओस् भन्ने अपेक्षा हुन्छ। चोट पुगे पनि सम्बन्ध सुध्रिन सक्ने सम्भावना बाँकी रहन्छ।
घृणामा भने त्यो सम्भावना साँघुरिन्छ। हामी कुनै कामको मूल्यांकन गर्दागर्दै पूरै मानिसको फैसला गर्न थाल्छौं। 'उसले गलत गर्यो' भन्नेबाट 'ऊ नै खराब हो' भन्ने ठाउँमा पुग्छौं। गल्ती उसको व्यवहारमा मात्रै नभएर स्वभावमै छ भन्ने ठान्न थाल्छौं। राम्रो काम गरे पनि कुनै स्वार्थले गरेको होला भन्ने लाग्छ। उसले जे गरे पनि आफ्नो पुरानो फैसला पुष्टि गर्ने अर्थ खोज्न थाल्छौं।
फ्रान्सेली दार्शनिक जाँ-पल सार्त्रले 'एन्टी-सेमाइट एन्ड जिउ' मा एउटा सहपाठीको यस्तै प्रसंग सुनाउँछन्।
परीक्षामा असफल भएको त्यो व्यक्तिले आफूभन्दा अगाडि रहेका प्रतिस्पर्धीमध्ये एक यहुदीलाई आफ्नो असफलताको दोष दिन्छ।
सार्त्र सोध्छन्— अरू प्रतिस्पर्धी हुँदाहुँदै उसकै उपस्थितिले किन अन्यायको अनुभूति दियो? उनको व्याख्यामा पहिल्यै रहेको पूर्वाग्रहले घटनाको अर्थ लगाइरहेको थियो। अनुभवबाट धारणा बन्नुभन्दा धारणा अनुसार अनुभव छानिनु मानवीय स्वभाव नै हो।
हाम्रो दैनिक व्यवहारमा पनि यस्तो हुन सक्छ। कसैलाई पहिल्यै खराब ठानिसकेपछि उसलाई बुझ्नेभन्दा आफ्नो धारणा सही साबित गर्ने काम ठूलो बन्छ।
त्यसैले मन नपर्नु अनिवार्य रूपमा घृणाको सुरुवात होइन। महत्त्वपूर्ण कुरा त्यो अनुभूतिबाट हामी कस्तो निष्कर्ष निकाल्छौं भन्ने हो। आफूलाई असहज भयो भन्दैमा अर्को मानिस दोषी भइहाल्छ? उसले एउटा गल्ती गर्यो भन्दैमा उसलाई बुझ्न बाँकी केही रहँदैन?
यी प्रश्न सोध्न छाडेपछि आफ्नो अनुभूति नै अर्को मानिसबारेको अन्तिम सत्य बनिरहेको हुन्छ। त्यसैले कसैलाई किन मन परेन भन्ने कारण खोज्दा उसको व्यवहारसँगै उसलाई हेर्ने आफ्नै दृष्टिबारे पनि सोच्नुपर्ने हुन्छ।
त्यसो भए स्वाभाविक प्रश्न हो— त्यो दृष्टिको सृष्टि कसरी हुन्छ?
आफ्नै दृष्टि जाँच्दा कहिलेकाहीँ अर्को मानिससँगै आफ्नै प्रतिबिम्ब पनि देखिन्छ। हामी उसलाई कस्तो ठान्छौं भन्ने कुरा आफूलाई कस्तो ठान्न चाहन्छौं भन्नेसँग पनि जोडिएको हुन्छ। त्यसैले कसैप्रतिको अरूचिमा उसको व्यवहारभन्दा हाम्रै आकांक्षा, असुरक्षा र रूचिको भूमिका ठूलो हुन सक्छ।
सँगै पढेको साथीले सफलता पाउँदा बधाइ दिन्छौं। खुसी पनि लाग्छ। तर केही बेरपछि आफ्नो जीवनतिर फर्किन्छौं। सँगै सुरू गरेको यात्रामा आफू कहाँ आइपुगेँ भन्ने प्रश्न उठ्न सक्छ। उसको सफलताले हामीबाट केही खोसेको हुँदैन। तैपनि आफू पछि परेको अनुभूति हुन सक्छ।
अर्काको उपलब्धि आफ्नै मूल्यको प्रश्न बन्न सक्छ। आफ्नो मूल्य अरूसँगको तुलनामा खोज्न थालेपछि अर्काको प्रशंसा पनि आफ्नो उपेक्षाजस्तो लाग्न सक्छ। तर यो स्वीकार्न सजिलो हुँदैन।
'मलाई पनि त्यस्तो मान्यता चाहिएको छ' भन्नुभन्दा 'ऊ त्यति प्रशंसाको योग्य छैन' भन्न सजिलो हुन्छ नै। त्यसैले आफ्नो चाहनाबारे सोच्नुपर्ने ठाउँमा उसको योग्यताबारे बहस सुरू हुन्छ। उसका कमजोरी भेटिएपछि खुसी हुन्छौं। उसलाई सानो देखाउन सके आफू पर्याप्त छु भन्ने विश्वास केही बेर जोगिन सक्छ।
मनोविश्लेषक कार्ल युङले व्यक्तित्वका आफूले स्वीकार गर्न नचाहेका पक्षलाई 'छाया' को अवधारणाबाट बुझाउन खोजेका छन्। उनको विचारमा हामी आफ्नै स्वभाव अरूमा देख्दा रिसाउन सक्छौं। आफूलाई पनि प्रशंसा चाहिएको हुन्छ, तर अर्कोले प्रशंसा खोज्दा रिस उठ्छ।
त्यस बेला समस्या उसैमा मात्रै छ भन्ने लाग्छ। आफ्नो चाहनाले पनि त्यो रिसमा भूमिका खेलेको हुन सक्छ भन्ने हामी देख्दैनौं, स्वीकार गर्न चाहँदैनौं।
यसको अर्थ सफल मानिसमाथिको हरेक आलोचना ईर्ष्या हो भन्ने होइन। उसका काममा साँच्चै समस्या हुन सक्छ। प्रश्न आलोचना रोक्ने होइन। आलोचना सही भए पनि त्यसबाट आफूले पाइरहेको सन्तोष जाँच्न सकिन्छ कि सकिँदैन भन्ने हो।
आफूलाई प्रश्न गर्नु भनेको आफ्ना तर्क सबै झूटा हुन् भन्नु होइन। तिनलाई सही मानिरहन आफूलाई किन आवश्यक छ भन्ने पनि बुझ्नु हो।
तर कसैप्रतिको अरूचि सधैं आफ्नै अनुभवबाट मात्र जन्मिँदैन। कहिलेकाहीँ कसलाई मन नपराउने भन्ने कुरा हामीले आफ्नो समूहबाट सिकेका हुन्छौं।
कुनै मानिसको कुरा सुन्नुअघि ऊ कुन दलको हो भनेर खोज्छौं। उसको व्यवहार नियाल्नुअघि जात, धर्म वा समुदाय चिन्छौं। त्यसपछि उसले के गरेको छ भन्नेभन्दा ऊ कुन समूहको हो भन्ने कुरा ठूलो बन्छ। उसलाई नचिनेरै ऊबारे धेरै कुरा थाहा भएको भान हुन्छ।
आफ्नो समूहको मानिसले गल्ती गर्दा परिस्थितिको उपज हो भनी ठान्छौं। अर्को समूहको मानिसले उस्तै गल्ती गर्दा 'यिनीहरू यस्तै हुन्' भन्छौं। एउटालाई व्यक्तिका रूपमा बुझ्छौं। अर्कोलाई उसको समूहको उदाहरण बनाउँछौं।
हामीलाई ऊ मन पर्दैन कि ऊ 'हाम्रो' होइन?
समूहले साथ र अपनत्व दिन्छ। आफू एक्लो छैन भन्ने अनुभूति दिन्छ। तर त्यो अपनत्व कहिलेकाहीँ साझा शत्रुमा टिक्न सक्छ। हामीबीच अरू कुरा नमिले पनि कसलाई विरोध गर्ने भन्ने कुरा मिल्छ।
उसको आलोचना गर्दा एकअर्कासँग नजिक भएको महसुस हुन्छ।
दार्शनिक पल कात्साफानसले 'इन्क्यान्डेसेन्ट एंगर' निबन्धमा यही भिन्नता खोल्छन्। कुनै अन्याय हटाउन गरिने विरोधको उद्देश्य हुन्छ। त्यो अन्याय हट्यो भने विरोधको आवश्यकता पनि बदलिन्छ। तर विरोध गर्नु नै आफ्नो पहिचान बनेको छ भने एउटा शत्रु हराउँदा अर्को आवश्यक हुन्छ।
यसलाई बुझ्न आफ्नै व्यवहार हेर्न सकिन्छ। आफूले विरोध गरेको मानिसले राम्रो काम गर्दा खुसी हुन सक्छौं? उसले गल्ती सच्याउँदा स्वीकार गर्न सक्छौं? कि ऊ गलत रहिरहोस् भन्ने चाहन्छौं, किनकि उसको गल्तीले आफू सही भएको विश्वास दिन्छ?
अर्को मानिस खराब हुनैपर्ने भएपछि उसलाई बुझ्ने ठाउँ कम हुँदै जान्छ। हामी कस्तो समाज चाहन्छौं भन्नेभन्दा कसको विरूद्ध छौं भन्ने कुराले हाम्रो परिचय दिन थाल्यो भने आफ्नो समूहमा रहन पनि त्यो विरोध कायम राख्नुपर्ने हुन सक्छ।
अर्को पक्षको मानिसमाथि भएको अन्यायको कुरा गर्दा आफ्नै साथीले शंका गर्न सक्छन्। उसको एउटा राम्रो काम स्वीकार गर्दा उसकै समर्थक भएको आरोप लाग्न सक्छ।
समूहबाट अलग नदेखिन मनमा उठेको प्रश्नसमेत दबाउन थाल्दा, हामीले आफ्नो भनिरहेको विचार कसको हुन्छ?
यो प्रश्नको अप्ठ्यारो पक्ष के हो भने समूहको प्रभाव हामीले सधैं दबाबका रूपमा अनुभव गर्दैनौं। कहिलेकाहीँ अरूको कुरामा सहमत हुँदै जाँदा त्यो धारणा कहिले आफ्नो भयो भन्ने थाहै नहुन पनि सक्छ।
सामाजिक मनोविज्ञानमा यी दुई प्रभाव छुट्ट्याएर हेरिन्छन्। एउटामा अरूको निर्णय सही होला भनेर पछ्याउँछौं। अर्कोमा उनीहरूबाट स्वीकार्य रहन उनीहरूको अपेक्षासँग मिल्छौं। बाहिरबाट दुवै सहमतिजस्तै देखिन्छन्। तर एउटामा विश्वास हुन्छ, अर्कोमा सम्बन्ध गुमाउने डर।
हामीलाई सही हुन मात्रै होइन, आफ्ना मानिससँग रहन पनि मन हुन्छ। यी दुई चाहना आपसमा ठोक्किँदा स्वतन्त्र भएर सोच्नुको कठिनाइ देखिन्छ। आफूलाई लागेको कुरा भन्नु कहिलेकाहीँ एउटा विचार राख्नु मात्रै हुँदैन। आफ्नो अपनत्व जोखिममा राख्नु पनि हुन्छ।
सामाजिक सञ्जालमा यो भिन्नता छुट्ट्याउन झन् गाह्रो हुन सक्छ। त्यहाँ कुनै घटना बुझ्नुअघि नै त्यसबारे अरूको फैसला देखिन्छ। कसले के भन्यो भन्नेसँगै कति मानिसले समर्थन गरे भन्ने पनि देखिन्छ। अनि आफूले पढेको कुराको सत्यताभन्दा त्यसले पाएको समर्थनले आफ्नो धारणा बनाउन थाल्न सक्छ।
त्यो समर्थनले हाम्रो धारणा मात्रै होइन, बोल्ने तरिका पनि बदल्न सक्छ।
सामान्य असहमति लेख्दा खासै प्रतिक्रिया आउँदैन। त्यही कुरा कसैलाई होच्याएर लेख्दा मानिसहरू हाँस्छन्। हामीलाई निर्भीक भन्छन्। त्यसपछि आफ्नो भनाइ कति न्यायपूर्ण थियो भन्नेभन्दा त्यसले कति ध्यान तान्यो भन्ने ठूलो हुन सक्छ।
यसरी कसैको अपमानमा आएको हाँसोलाई हामी आफ्नै तर्कको बल ठान्न सक्छौं। ह्याजलिटले भनेको सन्तोष अब निजी रहँदैन। त्यसका दर्शक र समर्थक पनि हुन्छन्।
हामीले सञ्जालमा के देख्छौं भन्ने कुरामा सामग्री छान्ने प्रणाली, अलगोरिदमको पनि भूमिका हुन्छ।
उदाहरणका लागि, टिकटकले हामीले कुन भिडिओ कति बेर हेर्यौं, पूरा हेर्यौं कि छाड्यौं, केमा टिप्पणी गर्यौं र के बाँड्यौं जस्ता संकेत प्रयोग गर्छ। यी संकेतका आधारमा हामीले चासो दिन सक्ने सामग्री छानेर देखाउँछ।
त्यसैले कुनै सामग्री मन नपरेकै कारण रोकिएर हेर्दा, टिप्पणी गर्दा वा साथीलाई पठाउँदा पनि त्यो गतिविधिले पछि देखाइने सामग्रीलाई प्रभावित गर्न सक्छ। हामीले असहमति जनाइरहेका हुन्छौं। तर त्यही विषयमा आफ्नो ध्यान पनि दिइरहेका हुन्छौं। उस्तै सामग्री फेरि देखिने सम्भावना प्रबल रहन्छ।
हाम्रो आफ्नै छनोट पनि त्यसमा जोडिन्छ। मन नपर्ने मानिसको कमजोरी देखाउने सामग्री खोज्छौं। त्यस्तै टिप्पणी भएका पृष्ठ पछ्याउँछौं। उसका पक्षमा आएको कुरा बहाना लाग्छ। विरोधमा आएको कुरा प्रमाण लाग्छ। बिस्तारै आफूले हेरिरहेको सीमित सामग्री नै उसको सम्पूर्ण वास्तविकताजस्तो देखिन सक्छ। यसले एउटा इको च्याम्बर बनाइरहेको हुन्छ।
एउटै आरोप धेरै ठाउँमा पढ्दा धेरै प्रमाण भेटिएजस्तो लाग्छ। तर ती सबैको स्रोत एउटै अपूर्ण भिडिओ वा अपुष्ट भनाइ पनि हुन सक्छ। दोहोरिएको कुरा र पुष्टि भएको कुरा एउटै होइन।
यहीँ एउटा विरोधाभास देखिन्छ। हामीलाई ऊ मन पर्दैन। तर ऊ के बोल्यो, कहाँ गयो र कसले प्रशंसा गर्यो भन्ने हेरिरहन्छौं। उसलाई महत्त्व दिनु हुँदैन भन्दै उसैबारे लेखिरहन्छौं। उसलाई मन नपराउने बानीले नै उसलाई हाम्रो ध्यानको केन्द्रमा राख्छ।
त्यतिन्जेल हामीले धेरै टिप्पणी लेखिसकेका हुन्छौं। आफ्नो धारणा सही हो भनेर बहस गरिसकेका हुन्छौं। अब नयाँ तथ्य आएर धारणा बदल्नुपर्दा उसलाई मात्रै फेरि बुझ्नुपर्ने हुँदैन। आफूले पहिले बोलेको कुरासँग पनि सामना गर्नुपर्ने हुन्छ।
त्यो सामना कहिलेकाहीँ नयाँ तथ्य स्वीकार्नुभन्दा कठिन हुन सक्छ।
मानौं, कसैविरूद्ध आएको आरोप सत्य ठानेर हामीले टिप्पणी लेख्यौं। धेरैले समर्थन गरे। असहमत हुनेसँग बहस गर्यौं। बिस्तारै त्यो आरोपसँग आफ्नो समय, प्रतिष्ठा र सम्बन्ध पनि जोडियो।
पछि घटनाको अर्को पाटो खुल्यो। भिडिओ अपूर्ण रहेछ। आरोपको मुख्य आधार नै गलत रहेछ। अब 'मैले हतारमा निष्कर्ष निकालेछु' भन्न सकिन्छ। तर त्यसो भन्दा पहिले लेखेका धेरै कुरा सच्याउनुपर्छ। आफूले आलोचना गरेका मानिसको कुरा फेरि सुन्नुपर्छ। कसैलाई अन्याय गरेको हुन सक्छ भन्ने पनि स्वीकार गर्नुपर्छ।
त्यो असहजताबाट बच्न अर्को बाटो रोज्न सक्छौं। यस पटकको आरोप गलत भए पनि ऊ खराब मानिस नै हो भन्ने। पुराना आरोप निकाल्ने। वा नयाँ तथ्य ल्याउने मानिसकै मनसायमाथि प्रश्न उठाउने।
निर्णय सम्बन्धी अध्ययनमा यससँग जोडेर हेर्न सकिने एउटा अवधारणा छ — 'एस्कलेसन अफ कमिटमेन्ट'।
कुनै निर्णयमा स्रोत खर्च गरिसकेपछि त्यसविरूद्ध सूचना आउँदा पनि थप समय, प्रयास वा स्रोत त्यही दिशामा लगाइरहने प्रवृत्ति। यसको एउटा कारण आफूले पहिले गरेको निर्णय सही थियो भनेर देखाउने चाहना हुन सक्छ।
सार्वजनिक अडानलाई पनि यस दृष्टिबाट हेर्न सकिन्छ। हामीले तर्क गरेका हुन्छौं। आफ्नो विवेकको दाबी गरेका हुन्छौं। अरूबाट प्रशंसा पाएका हुन्छौं। धारणा बदल्दा यी सबै गुमाउनुपर्ने हुन्छ।
त्यसपछि अर्को मानिस दोषी हो कि होइन भन्ने प्रश्न आफू कस्तो मानिस हुँ भन्ने प्रश्नसँग गाँसिन्छ। आफूलाई न्यायप्रेमी ठान्ने मानिसले अन्यायपूर्ण टिप्पणी गरेको स्वीकार गर्नुपर्छ। आफूलाई विवेकशील ठान्ने मानिसले नबुझेरै फैसला गरेको मान्नुपर्छ।
त्यसैले कहिलेकाहीँ अर्को मानिस गलत रहिरहनु हाम्रो आवश्यकता बन्न सक्छ। ऊ गलत रहेसम्म आफूलाई सच्याउनुपर्दैन।
घृणाको दार्शनिक कठिनाइ यहीँ छ। सुरूमा उसको कुनै व्यवहारले असहज बनाएको थियो होला। पछि समूहको समर्थन जोडियो। अहिले आफ्नै अडानबाट फर्कन गाह्रो भइरहेको हुन सक्छ। बीचमा घटना बदलियो होला। नयाँ कुरा थाहा भयो होला। तर उसप्रतिको आफ्नो व्यवहार बदलिएको हुँदैन।
ह्याजलिटले देखाएको घृणाको सन्तोषको मूल्य यहाँबाट स्पष्ट हुन्छ। त्यसलाई जोगाइराख्न अर्को मानिसको कमजोरी चाहिन्छ। आफ्नो समूहको सहमति चाहिन्छ। कहिलेकाहीँ आफ्नै धारणा सच्याउन सक्ने प्रमाणसमेत पन्छाउनुपर्छ।
तर किन कसैप्रति अरूचि राख्नु घातक हुन सक्छ? अरूलाई मन नपराई राख्ने यो सन्तोषको मूल्य आखिर कसले चुकाइरहेको हुन्छ?
सामान्यतया घृणा गरिएको मानिस मानसिक, सामाजिक, आर्थिक र राजनीतिक रूपमा प्रताडित हुने नै भयो। तर त्योभन्दा ठूलो मूल्य स्वयं र समाजले बेहोर्नुपर्ने हुन्छ।
घृणाको बोझ बोकिरहँदा हामीले आफ्नै जीवनको केही हिस्सा पनि त्यसलाई सुम्पिरहेका हुन्छौं। अर्को मानिस अनुपस्थित हुँदा पनि ऊसँग मनमनै बहस गरिरहेका हुन्छौं। घृणाले पहिले हाम्रो आलोचनात्मक सोच्ने क्षमता खियाउन सक्छ। त्यससँगै आफ्नो ध्यान र निर्णयमाथिको अधिकार पनि कमजोर हुँदै जान्छ। अन्ततः घृणाले संसार बुझ्ने संरचना बनाउन थाल्छ।
समाजले पनि आफ्नो असन्तोषलाई यसरी बुझ्न थाल्यो भने साझा भविष्यको कल्पना साँघुरिन्छ। हामीलाई कस्तो व्यवस्था चाहिन्छ भन्ने प्रश्नको उत्तर कसलाई हटाउनुपर्छ भन्नेमा सीमित हुन सक्छ। अन्याय गर्ने मानिसलाई जिम्मेवार बनाउनु आवश्यक हुन्छ।
तर उसको पराजयपछि पनि न्यायपूर्ण संस्था बनाउने र सँगै बाँच्ने सर्तहरू तय गर्ने काम बाँकी रहन्छ। घृणाको सबैभन्दा गहिरो सामाजिक मूल्य सायद यही हो— त्यसले असन्तोषलाई यति सन्तोषजनक बनाइदिन सक्छ कि परिवर्तनको माग गरिरहँदा पनि परिवर्तन गर्नुपर्ने आफ्नै जीवनसम्म हामी पुग्दैनौं।
सबैलाई मन पराउन सम्भव हुँदैन। कसैसँग असहमत हुन सक्छौं। उसको व्यवहारको विरोध गर्न र उसलाई जिम्मेवार बनाउन सक्छौं। तर हामीलाई मन नपरेर पनि उसले सही कुरा भन्न सक्छ। हामीसँग नमिलेर पनि उसमाथि अन्याय भएको हुन सक्छ। त्यस्तो बेला आफ्नो अरूचिभन्दा बाहिर गएर उसको कुरा सुन्न सक्छौं कि सक्दैनौं भन्नेले हाम्रो विवेकको अर्थ खोल्छ।
घृणाबारे सबैभन्दा गम्भीर भएर सोच्नुपर्ने ठाउँ हाम्रो व्यक्तिगत सम्बन्धभन्दा पनि इतिहास र राजनीतिमा छ।
हामीले गरेका क्रान्तिहरू सम्झौं। के ती आफूले प्रेम गरेको राष्ट्र निर्माण गर्ने आकांक्षाबाट जन्मिएका थिए? कि आफूले घृणा गरेका शासकहरूलाई हटाउने चाहनाबाट?
हामीले घृणा गरेको सत्ता त ढाल्यौं, तर प्रेम गरेको राष्ट्र कस्तो हुनुपर्छ भन्ने प्रश्नको उत्तर खोज्नै बाँकी छोड्यौं कि?
अनि आज पनि हामी देशप्रतिको प्रेमले राजनीति गरिरहेका छौं, कि देशलाई प्रेम गर्ने हाम्रो दाबीलाई घृणाले नै परिभाषित गरिरहेको छ?
हामी प्रायः आफ्ना विश्वास अनुसार संसार बदलियोस् भन्ने चाहन्छौं। तर अर्को मानिसलाई बुझ्दा आफ्नै विश्वास पनि बदलिन सक्छ भन्ने सम्भावना कति खुला राख्छौं?
'हामीलाई किन कोही मन पर्दैन' भनेर सुरू गरेको प्रश्नसँगै एक पटक आफैलाई पनि सोधौं — कसैलाई मन नपराइरहनुमा हामीले आनन्द त पाइरहेका छैनौं?
यति आत्ममन्थन गर्न सके, सायद हामीलाई मन नपर्ने मानिसहरूको सूची अलिकति छोटो हुन्थ्यो कि?
यस वर्षको तिहारमा तपाईंहरूको जीवनमा घृणाको अन्धकारबाट शान्तिको ज्योति बल्न सकोस्, मन नपर्ने मानिसको सूची अलिकति छोटो हुन सकोस्। शुभकामना!
***
(लेखक प्रशान्तराज कार्की त्रिभुवन विश्वविद्यालयको एमबिए कार्यक्रममा 'एआई फर बिजनेस' अध्यापन गर्छन्। र, प्रविधिलाई व्यवस्थापन तथा रणनीतिक निर्णयसँग जोड्ने विषयमा रूचि राख्छन्।
एक्स- @TweetPRK