रञ्जिता ताम्राकार आफ्नी प्यारी फुच्चीलाई राम्रा राम्रा लुगा लगाइदिन चाहन्थिन्।
तर बजारमा कुकुरका लागि लुगा सजिलै पाइँदैनथ्यो। पाइहाले पनि महँगो पर्थ्यो। त्यसैले उनी कहिलेकाहीँ फुच्चीलाई मान्छेकै लुगा लगाइदिन्थिन्।
यही रहरले रञ्जितालाई एक दिन नयाँ व्यवसाय गर्ने सोच आयो।
'आफ्नो कुकुरलाई चिटिक्क पारेर सजाउन चाहने अरू मानिस पनि त होलान् भन्ने सोचेँ। उनीहरूका लागि लुगा बनाउने व्यवसाय किन सुरू नगर्ने भनेर खिचा सुरू गरेँ,' उनले भनिन्।
आफ्नी फुच्चीका लागि सुरू गरेको 'खिचा' बाट रञ्जिताले अहिले अरू धेरै परिवारका कुकुरका लागि लुगा बनाइरहेकी छन्। खिचामा मौसम र अवसर अनुसार लुगा पाइन्छ। जाडोमा हुडी र ज्याकेट, दसैं–तिहारमा ढाकाको बुट्टा भएका लुगा।
जन्मदिन र विवाह जस्ता उत्सवमा समेत कतिपय ग्राहक आफ्ना कुकुरका लागि नयाँ लुगा किन्छन्। कतिपयले त आफ्नै लुगासँग मिल्दोजुल्दो पहिरन कुकुरलाई लगाइदिन्छन्।
'दसैं सुरू भएदेखि तिहार र जाडो महिनासम्म खिचामा कुकुरको लुगाको माग बढ्छ। यस वर्ष दसैंदेखि तिहारसम्म दैनिक ५०–६० वटासम्म अर्डर आएका छन्,' उनले भनिन्।

कुकुरप्रतिको रञ्जिताको माया फुच्चीबाट मात्र सुरू भएको होइन। उनलाई सानैदेखि कुकुर मनपर्थ्यो। बाल्यकालमा उनको घरमा रिंकु नामको कुकुर थियो। रिंकु उनीहरूको परिवारसँग २० वर्षसम्म रह्यो।
रिंकुको मृत्यु हुँदा रञ्जिता २६ वर्षकी थिइन्।
पछि एक जना दाइले उनलाई पोमेरेनियन जातको कुकुर उपहार दिए। उनले त्यसको नाम राखिन्, फुच्ची।
फुच्ची घर आएपछि रञ्जिता उसलाई राम्रा राम्रा लुगा लगाइदिन चाहन्थिन्। नेपालमा त्यति बेला कुकुरका लागि लुगा पाउन सजिलो थिएन।
त्यसै क्रममा कोरोना महामारी फैलियो। नियमित कामबाट घरमै बस्नुपरेका बेला उनले केही नयाँ गर्ने योजना बनाइन्। त्यही समय आमाको सहयोगमा घरबाटै कुकुरका लुगा बनाउन थालिन्।
त्यसपछि श्रीमानसँग मिलेर गरेको बचतबाट ३० देखि ४० हजार रूपैयाँ लगानी गरिन्। यसरी सन् २०२० अगस्ट २२ मा खिचाको सुरूआत भयो।
व्यवसायको नाम राख्दा पनि उनले कुकुरप्रतिको आफ्नै माया जोडिन्।
नेपाल भाषामा कुकुरलाई 'खिचा' भनिन्छ। यो शब्दलाई कतिपयले गालीका रूपमा समेत प्रयोग गर्छन्। तर रञ्जिता यही शब्दसँग सकारात्मक भावना जोड्न चाहन्थिन्। त्यसैले व्यवसायको नाम खिचा राखेको उनले बताइन्।
सुरूमा उनी घरमै लुगा बनाउँथिन्। ग्राहकको अर्डर अनुसार लुगा तयार पारेर पठाउँथिन्। बिस्तारै अर्डर बढ्दै गयो। घरमै मात्र लुगा बनाएर माग पूरा गर्न कठिन हुन थाल्यो। त्यसपछि उनले बाहिरबाट पनि लुगा बनाउन लगाइन्।
रञ्जिताले मार्केटिङमा स्नातकोत्तर (एमबिए) गरेकी छन्। व्यवसाय सुरू गर्नुअघि उनी ठमेलस्थित होटल रोड हाउसमा मार्केटिङको काम गर्थिन्। त्यसपछि सिंगापुर र हङकङका बजारसँग सम्बन्धित अनलाइन मार्केटिङको काम गरिन्।

नेपाल क्यान्सर अस्पतालमा पनि करिब १० महिना मार्केटिङ म्यानेजरका रूपमा काम गरिन्।
व्यवसाय विस्तार हुँदै गएपछि सन् २०२२ मा उनले काठमाडौंको डल्लुमा खिचाको कार्यालय स्थापना गरेकी हुन्।
रञ्जिताको घरमा अहिले सात वटा कुकुर छन्। यी कुकुर उनको परिवारका सदस्य मात्र होइनन्, खिचाका नयाँ लुगा तयार पार्न सहयोगी पनि हुन्।
कुकुरका लागि लुगा बनाउँदा डिजाइन राम्रो भएर मात्र पुग्दैन। शरीरको आकार अनुसार नाप मिल्नुपर्छ। लगाउँदा हिँडडुल गर्न पनि सहज हुनुपर्छ।
रञ्जितालाई आफ्नै कुकुरका कारण यी कुरा बुझ्न सजिलो भएको छ।
'म कुकुरको नाप लिन्छु। कस्तो कपडा र डिजाइन उपयुक्त हुन्छ भनेर हेर्छु। श्रीमानसँग मिलेर नयाँनयाँ डिजाइन तयार गर्छु,' उनले भनिन्।
यसरी आफ्नै कुकुरसँगको सामीप्यले उनको व्यवसायमा पनि मद्दत पुर्याएको छ।
अहिले खिचाले सानादेखि ठूला आकारका कुकुरका लागि लुगा बनाउँछ। बिस्तारै अरू सामग्री पनि थपेको छ। कुकुरका लागि बेल्ट, ब्यान्डाना र ट्याग समेत बनाइन्छ।
ग्राहकले आफ्नो कुकुरको ट्यागमा नाम, फोटो र मनपर्ने डिजाइन राख्न सक्छन्। ट्यागको पछाडि फोन नम्बर समेत राख्ने सुविधा छ। कुकुर हराएमा कसैले फेला पार्दा सम्पर्क गर्न सजिलो होस् भनेर यस्तो सुविधा राखिएको रञ्जिता बताउँछिन्।
मानिसको जस्तै कुकुरको लुगाको रोजाइ पनि मौसम र अवसर अनुसार फेरिन्छ।
दसैं–तिहारमा ढाकाको प्रिन्ट भएका लुगाको माग बढी हुन्छ। जाडो मौसममा हुडी र बेसबल ज्याकेट ग्राहकले धेरै रूचाउँछन्।
विश्वकप फुटबल बेला खिचाले विभिन्न देशका जर्सीको डिजाइनमा पनि लुगा बनाएको थियो। ती जर्सी ग्राहकले मन पराएको रञ्जिता बताउँछिन्।
'पछिल्लो छ वर्षमा कुकुरका लागि लुगा किन्ने मानिसको रूचिमा धेरै परिवर्तन आएको छ। पहिले कुकुरलाई लुगा लगाइदिएको दृश्य धेरैजसो विदेशी फिल्ममा देखिन्थ्यो। अहिले नेपालमै पनि कुकुरलाई परिवारको सदस्य मानेर उनीहरूका लागि लुगा किन्ने चलन बढेको छ,' उनले भनिन्।

अहिले खिचामा रञ्जितासहित तीन जना काम गर्छन्।
यहाँ कुकुरका लुगाको मूल्य ६०० देखि १५०० रूपैयाँसम्म पर्छ। बेल्टको मूल्य भने ३५० रूपैयाँदेखि सुरू हुन्छ।
खिचाको कारोबार अहिले मुख्य रूपमा अनलाइनबाट हुन्छ। ग्राहकले सामाजिक सञ्जाल, खिचाको वेबसाइट र दराजमार्फत सामान अर्डर गर्न सक्छन्।
रञ्जिताका अनुसार खिचाको वेबसाइट सुरू भएको करिब तीन वर्ष भयो। ग्राहकले डल्लुस्थित कार्यालयमा गएर सामान हेर्न र किन्न पनि सक्छन्। कुकुरलाई लुगाको साइज नमिलेमा साट्ने सुविधा छ।
सुरूका दिनदेखि खिचाका सामान किनिरहेका ग्राहक अझै पनि आइरहेको रञ्जिता बताउँछिन्। कतिपय ग्राहकले आफ्ना कुकुरका तस्बिर समेत पठाउँछन्। अहिले गुगल रिभ्यूमा पनि खिचाका लुगा लगाएका कुकुरका तस्बिर देखिन थालेका छन्।
अनलाइनबाटै व्यवसाय राम्रोसँग चलिरहेकाले तत्काल पसल खोल्ने योजना नरहेको उनको भनाइ छ।
'मेरा लागि खिचा सामान बेच्ने व्यवसाय मात्र होइन। यो मेरो बाल्यकालदेखि कुकुरसँग गाँसिएको मायाको निरन्तरता पनि हो,' रञ्जिताले भनिन्।