आज कुकुर तिहार। मीठो खानेकुरा खुवाएर मानिसहरूले आफ्ना चारखुट्टे साथीप्रति माया र कृतज्ञता प्रकट गरिरहेका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत तालिमप्राप्त कुकुरहरूका लागि पनि आज विशेष दिन हो। वर्षभरि मानिसको सुरक्षामा खटिने उनीहरूले आज आफ्नो कामको सम्मान पाउँछन्।
तर यी चारखुट्टे सिपाहीहरूको जीवनमा एउटा यस्तो दिन पनि आउँछ, जुन दिन उनीहरूलाई लगाइने माला सम्मानको मात्र हुँदैन, अन्तिम बिदाइको हुन्छ।
त्यो दिन उनीहरूलाई स्याबासी दिने हातले नै अन्तिम पटक फूल चढाउँछ।
अनि सधैं सँगै काम गरेको आफ्नो चारखुट्टे साथीलाई मानिसहरूले सदाका लागि बिदा गर्छन्।
आखिर जीवनभर मानिसका लागि काम गर्ने यी कुकुरहरू मरेपछि के हुन्छ? उनीहरूको अन्तिम संस्कार कसरी गरिन्छ? उनीहरूसँग वर्षौं काम गरेका सुरक्षाकर्मीहरूले कसरी बिदा गर्छन्?
कुकुर तिहारको अवसरमा हामीले नेपालका तीन प्रमुख सुरक्षा निकायसँग यही प्रश्न सोधेका छौं।
उनीहरूले दिएका उत्तरमा अन्तिम संस्कारका विधि मात्र छैनन्, मानिस र कुकुरबीचको आत्मीय सम्बन्धको कथा पनि छ।
यी कुकुरहरू मानिसले जस्तो आफ्नो जिम्मेवारीबारे बोल्न सक्दैनन्। तर उनीहरूको कामले धेरै कुरा भनिरहेको हुन्छ। कहिले भूकम्पले भत्किएका संरचनामुनि मानिस खोज्न पुग्छन्। कहिले पहिरोले पुरिएको ठाउँमा हराइरहेका मानिसको खोजी गर्छन्।
कहिले विमानस्थलमा शंकास्पद सामान सुँघिरहेका हुन्छन्। कहिले अपराध अनुसन्धानमा प्रहरीलाई सघाइरहेका हुन्छन्।
उनीहरूलाई कहाँ खतरा छ भन्ने कुरा सधैं थाहा नहुन सक्छ। तर तालिम अनुसार आफ्नो जिम्मेवारी पूरा गर्न खटिन्छन्। उनीहरूका लागि सबभन्दा परिचित मानिस हुन्छन्। आफ्नै ह्यान्डलर अर्थात् तालिम दिने, हेरचाह गर्ने र काममा सँगै लैजाने सुरक्षाकर्मी।
ह्यान्डलरले कुकुरको बानी बुझ्छन्। उनीहरूको स्वास्थ्य र खानपानको ख्याल गर्छन्। तालिम गराउँछन्। काममा सँगै जान्छन्। कुकुरले राम्रो काम गर्दा ह्यान्डलरबाट पाउने सानो स्याबासी पनि उनीहरूका लागि ठूलो पुरस्कार बन्न सक्छ।
यही सम्बन्ध वर्षौं चल्छ। तर मानिस र कुकुरको आयु एउटै हुँदैन। सँगै काम गरिरहेका दुई साथीमध्ये कुनै दिन एउटाले अर्कोलाई सदाका लागि बिदाइ गर्नुपर्ने हुन्छ।
-ink-1794110978.jpeg)
अन्तिम माला लगाएर जमिनमा गाडिन्छ, सम्झनामा रोपिन्छ रूख
नेपाली सेनामा कार्यरत तालिमप्राप्त कुकुरको मृत्यु भएपछि उसलाई त्यसै बिदा गरिँदैन।
पहिले पशु चिकित्सकले शव परीक्षण गर्छन्। मृत्युको कारण खुलाइन्छ। आवश्यक प्रशासनिक कागजात र मृत्यु प्रमाणपत्र तयार गरिन्छ। त्यसपछि अन्तिम संस्कारको प्रक्रिया सुरू हुन्छ।
नेपाली सेनाका सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाले आफ्ना तालिमप्राप्त कुकुरलाई सम्मानसहित अन्तिम बिदाइ गर्छ।
उनीहरूको शवमा फूलमाला चढाइन्छ। धार्मिक तथा सांस्कृतिक विधि अनुसार अन्तिम संस्कार गरिन्छ।
मानिसलाई जस्तो औपचारिक सैनिक सलामी भने दिइँदैन।
'अन्त्येष्टि गर्दा शवलाई ब्यारेक वा कार्यालय परिसरभित्रै सुरक्षित रूपमा खाल्डो खनेर गाड्ने गरिएको छ,' बस्नेतले भने।
तर कथा यहीँ सकिँदैन।
कुकुरलाई गाडिएको ठाउँमा उसको नाम राखिन्छ। केही समयपछि त्यही ठाउँमा रूख रोप्ने चलन पनि छ।
कुनै समय दौडिने, उफ्रिने, सुँघ्ने र खोज्ने काममा व्यस्त रहेको एउटा जीवको सम्झना त्यसपछि एउटा रूखसँग जोडिन्छ।
यसबाहेक सेनाको अभिलेखमा पनि उसको सेवाको विवरण रहन्छ। मृत्युपछि भने उसले पाउँदै आएको रासन बन्द गर्ने प्रशासनिक प्रक्रिया अघि बढ्छ।
बस्नेतका अनुसार नेपाली सेनामा अहिले करिब ७५ वटा तालिमप्राप्त कुकुर छन्। ती कुकुर सेनाका विभिन्न सुरक्षा, खोज तथा उद्धारसम्बन्धी काममा खटिन्छन्।
उनीहरूका लागि कुकुर तिहार सम्मान पाउने दिन हो। तर मृत्यु भएपछि पनि उनीहरूले गरेको सेवाको सम्झना कायम रहने बस्नेत बताउँछन्।
-ink-1794110977.jpeg)
अन्तिम बिदाइमा ह्यान्डलरको आफ्नै माया
सशस्त्र प्रहरी बलमा पनि तालिमप्राप्त कुकुरहरू सुरक्षा र उद्धारका काममा खटिन्छन्।
सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेश पोखरेलका अनुसार प्रायः छ महिनाको उमेरमा कुकुर खरिद गरेर ल्याइन्छ। त्यसपछि सुरू हुन्छ, मानिस र कुकुरको सहकार्य।
हेरचाह, तालिम र अभ्यास हुँदै कुकुरलाई फिल्डमा खटाउन तयार गरिन्छ।
सबै कुकुरको स्वभाव उस्तै हुँदैन। कोही तालिममा सिकाइएको भन्दा पनि उत्कृष्ट काम गर्छन्। कोही अलि अल्छी पनि हुन्छन्। तर सबैको हेरचाह समान रूपले गरिन्छ।
राम्रो काम गर्नेलाई कुकुर तिहारमा विशेष सम्मान दिने चलन पनि छ।
पोखरेलका अनुसार कुकुरहरू काममा खटिँदा बिरामी पर्न सक्छन्। चिसोका कारण निमोनिया, श्वासप्रश्वासको समस्या तथा पेटसम्बन्धी रोग देखिन सक्छन्। त्यसैले उद्धार कार्यमा खटिँदा उनीहरूको स्वास्थ्य हेर्न पशु चिकित्सासम्बन्धी प्राविधिक टोली पनि सँगै रहने व्यवस्था गरिएको हुन्छ।
सामान्य उपचारले नपुग्ने अवस्थामा अस्पताल पुर्याइन्छ।
यति हेरचाह गरिएका कुकुरको मृत्यु हुँदा भने सशस्त्र प्रहरी बलमा कुनै विशेष औपचारिक समारोह गरिँदैन।
शव परीक्षण गरेर मृत्युको कारण यकिन गरिन्छ। मृत्यु प्रमाणपत्र तयार पारिन्छ। त्यसपछि शव गाडिन्छ।
अन्तिम संस्कार सामान्य भए पनि ह्यान्डलरलाई आफ्नो साथीप्रति अन्तिम सम्मान व्यक्त गर्ने छुट हुन्छ।
'गाड्ने बेला उसलाई तालिम दिने ह्यान्डलरले इच्छा अनुसार माला वा फूल चढाएर सम्मान गर्न सक्छ,' पोखरेलले भने।
जीवनभर सँगै काम गरेको साथीप्रति स्नेह प्रकट गर्ने त्यो अन्तिम अवसर हो। त्यसपछि कुकुरलाई कार्यालय परिसर वा निर्धारित ठाउँमा सुरक्षित रूपमा गाडिन्छ।
पोखरेल भन्छन्, 'जीवित हुँदै उसका आवश्यक र गर्नुपर्ने कामहरू गरेका हुन्छौं। मृत्युपछिको अन्त्येष्टि भने सामान्य हुन्छ।'
यो भनाइले एउटा अर्को प्रश्न पनि उठाउँछ।
कुकुरप्रतिको वास्तविक सम्मान उसलाई मृत्युपछि कस्तो समारोह गरेर बिदा गरियो भन्नेमा मात्र सीमित हुन्छ र? कि ऊ जीवित रहँदा कति राम्रो हेरचाह, उपचार, आराम र स्नेह पायो भन्ने कुरा अझ महत्त्वपूर्ण हुन्छ?
सशस्त्र प्रहरी बलको अभ्यासले दोस्रो पक्षलाई जोड दिएको देखिन्छ।
-ink-1794110978.jpeg)
स्याबासी दिने हातले नै चढाउँछ अन्तिम फूल
नेपाल प्रहरीमा पनि कुकुर र ह्यान्डलरबीचको सम्बन्ध कामको तालिममा मात्र सीमित हुँदैन।
एउटा कुकुरलाई अपराध अनुसन्धानका लागि तयार पार्न लामो समय अभ्यास गराइन्छ। उसले विभिन्न गन्ध चिन्न सिक्छ। निर्देशन बुझ्न सिक्छ। शंकास्पद वस्तु वा मानिसको खोजीमा काम गर्न सिक्छ।
उसको सफलतामा ह्यान्डलरको मेहनत पनि जोडिएको हुन्छ।
नेपाल प्रहरी केनाइन कार्यालयका डिएसपी चुडामणि ज्ञवालीका अनुसार कुकुरले राम्रो काम गरेपछि उसलाई तत्काल स्याबासी दिने गरिन्छ।
'उसलाई राम्रो काम गरेपछि तत्कालै पनि थपथपाएर वा स्याबासी दिने गरिन्छ,' ज्ञवालीले भने, 'ह्यान्डलरले स्याबासी दिँदा उनीहरू तत्काल खुसी हुन्छन्।'
यही स्याबासी र तालिमको सम्बन्धमा कुकुरहरू आफ्नो जिम्मेवारी पूरा गर्छन्। तर कहिलेकाहीँ जिम्मेवारी पूरा गर्दागर्दै उनीहरूको जीवन नै सकिन्छ।
ज्ञवालीले फिल्डमा खटिएका बेला एउटा कुकुरको मृत्यु भएको घटना सम्झिए।
उनका अनुसार करिब एक वर्षअघि कामकै सिलसिलामा एउटा कुकुरको मृत्यु भएको थियो। शव परीक्षण गर्दा पशु चिकित्सकले मृत्युको कारण हृदयाघात भएको बताएका थिए।
ज्ञवालीलाई जानकारी भए अनुसार त्यसबाहेक काममै खटिएको अवस्थामा मृत्यु भएका अरू घटना थिएनन्।
फिल्डमा ज्यान गुमाएको त्यो कुकुरको मृत्यु भएपछि पनि अरू कुकुरको जस्तै प्रक्रिया अपनाइयो।
मुचुल्का तयार पारियो। शव परीक्षण गरियो। मृत्यु प्रमाणपत्र बनाइयो।
अनि अन्तिम संस्कार गरियो।
प्रहरीमा पनि मृत्यु भएका कुकुरलाई कार्यालय परिसरमा खाल्डो खनेर गाड्ने अभ्यास छ।
अन्तिम संस्कारमा ह्यान्डलरसहित सम्बन्धित सुरक्षाकर्मी उपस्थित हुन्छन्।
'मृत्युमा उसको ह्यान्डलरले आफूले चाहेजसरी फूलमाला चढाएर संवेदना व्यक्त गरेर अन्त्येष्टि गरिन्छ,' ज्ञवालीले भने, 'अन्य थप कार्यक्रम भने हुँदैनन्।'
केनाइन कार्यालयमा हाल करिब १०० देखि १०५ वटा तालिमप्राप्त कुकुर रहेको ज्ञवाली बताउँछन्।
उनीहरू लागुऔषध नियन्त्रण, अपराध अनुसन्धान, खोज तथा उद्धारलगायतका काममा परिचालित हुन्छन्।
कुकुर तिहारका दिन राम्रो काम गर्ने कुकुर र ह्यान्डलरलाई सम्मान तथा पुरस्कार दिने अभ्यास छ। कुकुरको मृत्यु भएपछि भने उसको सेवा अवधिसम्बन्धी कागजात तयार गरेर माथिल्लो निकायमा पठाइन्छ। उसले पाउँदै आएको रासन कट्टा गरिन्छ।
केही सुरक्षा एकाइमा मृत्यु भएका कुकुरको नाम, जन्ममिति, सेवा अवधि र मृत्यु मिति उल्लेख गरेर सानो स्मारक राख्ने चलन रहेको ज्ञवाली बताउँछन्।
यसरी कुनै कुकुरको सेवा अभिलेखमा एउटा मिति थपिन्छ। त्यो उसको मृत्युको मिति हो। तर त्यसअघि उसले गरेका काम, सँगै बिताएको समय र ह्यान्डलरसँग बनेको सम्बन्धलाई एउटा मितिमा समेट्न सकिँदैन।
-ink-1794110977.jpeg)
एक दिनको सम्मान, जीवनभरको साथ
आज देशभर कुकुर तिहार मनाइँदैछ। मानिसहरूले कुकुरलाई टीका लगाउँदैछन्, माला पहिर्याउँदैछन्। तर नेपालका सुरक्षा निकायमा कार्यरत यी कुकुरको जीवन हेर्दा सम्मानको अर्थ आजको एक दिनभन्दा धेरै फराकिलो देखिन्छ।
उनीहरूले मानिसलाई अप्ठ्यारो पर्दा सघाउँछन्। कसैलाई खोज्न कठिन ठाउँमा पुग्छन्। कसैको सुरक्षाका लागि खटिन्छन्। कुनै अपराधको अनुसन्धानमा मानिसले भेट्टाउन नसकेको सुराक पहिल्याउन सहयोग गर्छन्।
त्यसैले उनीहरू केवल पालिएका जनावर होइनन्, सुरक्षा निकायका काम गर्ने साथी हुन्। तर उनीहरूको सेवाको एउटा निश्चित अन्त्य हुन्छ।
उनीहरू मरेपछि शव परीक्षण गरिन्छ। मृत्यु प्रमाणपत्र बनाइन्छ। प्रशासनिक अभिलेखमा मृत्यु जनाइन्छ। रासन कट्टा हुन्छ। त्यसपछि संस्थागत रूपमा उनीहरूको जिम्मेवारी समाप्त हुन्छ।
लामो समय सँगै काम गरेका मानिसका लागि त्यो केवल एउटा प्रशासनिक प्रक्रिया नहुन सक्छ। जुन कुकुरलाई ह्यान्डलरले तालिम दिएका थिए, जसको स्वास्थ्य र खानपानको हेरचाह गरेका थिए, जसलाई राम्रो काम गर्दा थपथपाएर स्याबासी दिएका थिए, अन्तिम दिन त्यही कुकुरलाई फूल चढाएर बिदा गर्नुपर्छ।
आज उसको गलामा माला लगाइन्छ, ऊ बाँचिरहेको र मानिसको साथी बनेर काम गरिरहेको सम्मानमा।
अन्तिम दिन पनि माला लगाइन्छ, उसले जीवनभर दिएको साथको सम्झनामा।
फरक यति हो—
आज माला लगाएर ऊ फेरि आफ्नो ह्यान्डलरसँग हिँड्न सक्छ। अन्तिम दिन भने ह्यान्डलरले उसलाई त्यहीँ छाडेर फर्किनुपर्छ।
***