कथा:
रमाको पेटमा लातैलातले हानिरहेछ कुनै एउटा भीमकाय जन्तु। दारा किटिकिटी हाँसिरहेछ ऊ विकराल हाँसो। खहरेझैँ बगिरहेछ रमाको शरीरबाट खुन। लहरबाट छुटेका परालका त्यान्द्रा जसरी छरिएका छन् आँगनभरि रमाका आन्द्राहरू।
दुखाइको वेदनाले सोत्तर भएर होला, कुनै नदीले बगाउँदै बगाउँदै किनारमा छाडी गएको मुडोझैँ आँगनमा लमतन्न परेकी छ रमा। हात टेक्न खोज्छे, सास रोकिएला झैँ हुन्छ। खुट्टा टेक्न खोज्छे। लाग्छ उसको शरीरबाट खुट्टा अलप भएका छन्। झन् जोरजोरले खित्का छाडीछाडी हाँस्न थाल्छ भीमकाय जन्तु।
उसको कर्कस हाँसोले रमाका कानका जाली फुट्लान् जस्तै हुन्छ।
अचानक झल्यास्स ब्युँझेन्छे रमा। ऊ आगोको रापमा पोलिन लागेको मकैझैँ तातिएकी हुन्छे। झ्यालबाट चिहाइरहेका सूर्यका कलिला बिहानी किरणहरूले रमाको निधारमा मुलायम स्पर्श गर्छन्। अलिकति शरीर दुखेजस्तो अनुभूति हुन्छ। विक्षिप्त सपनाको डरलाग्दो दृश्य एकपटक फेरि आँखाको पर्दामा चलचित्रझैँ प्रदर्शित हुन्छ। ओठ सुकेर सुकुटी माछाजस्ता भएका हुन्छन्। सुकेका ओठलाई जिब्रोले भिजाउँछे रमा। र सुतेको भुइँबाट बिस्तारै उठ्छे। पिसाबले फुट्ने गरी च्यापिरहेको हुन्छ।
ऊ खुर्रर दौडेर घर पछाडिको एकान्तमा पुग्छे। ऊँटले झैँ टाउको उचालेर यताउति हेर्छे। वरिपरि कोही छैन। शून्यजस्तो सफा छ आकाश। क्षितिजको काखबाट सुन्तले घामको रथ हाँक्दै उकालो उक्लँदै छ सूर्य।
रमा घाँघर माथि उचालेर सयपत्री फूलझैँ भुइँमा टुसुक्क बस्छे। अलिकति बल लगाएर छुल्ल गर्दै मुततिर हेर्छे। उसका आँखाहरू बर्खे भेलझैँ बग्न लागेको मुतमाथि दौडन्छन्। अनायासै चसक्क हुन्छ मुटु। बटारिएको मोटरसाइकलको एक्सिलेटरझैँ पो बढ्छ मुटुको धड्कन। पिसाबको ठाउँमा मधुकैटवको रगतको खोलाझैँ पो बगिरहेको हुन्छ रगत।
रमा गोली लागेको मृगझैँ उफ्रिँदैउफ्रिँदै घर अगाडिको आँगनमा आइपुग्छे। घरको दैलाबाट फुतफुत निस्किरहेको थियो सेतो धुवाँ। आँगनभरि फैलिएको थियो पाक्न लागेको कोदोको रोटीको गन्ध। रमा बडो जोरले बमझैँ विस्फोटित हुन्छे, 'आमा! आमा!'
रमाको आवाज आमाको कानमा चट्याङझैँ ठोक्किन्छ। रमाको काँडा जत्तिकै तीखो आवाज आमाको कानमा मात्र होइन, पर उभिएका शान्त, सौम्य र प्रशान्त, निरव पहाडहरूमा ठोकिएर नेटाकोट गाउँभरि नै प्रतिगुञ्जित हुन्छ । मान्छेहरूको भिड रमाको घरतिर हुइँकिन्छ।
दैलाबाट बर्खे बादलझैँ कालीनीली भएर अत्तालिँदै निस्किन्छन् मैलो धोतीले बेरिएकी रमाकी आमा र हतासमय आवाजमा सोध्छिन्, 'लौ न,के भयो रमा?'
सर्वस्व गुमाएकी स्वास्नीमान्छेझैँ झन् जोरजोरले डाको छाडीछाडी रून थाल्छे रमा। रमाको हृदयविदारक रूवाइ सुनेर खरायोझैँ दौडँदैदौडँदै आँगनमा टुक्रुक्क आइपुग्छ झम्के ।
मुख रातो पार्दै निधारका रेखाहरू खुम्चाएर भन्छ, 'लौन, के भयो? के भयो? के भयो, रमा?'
त्यहाँको खलबल सुनेर गौरी कार्की, मालती भाउजू, झुप्री दिदी, मैनकला फुपूलगायत धेरै जना आँगनमा जम्मा भइसकेका थिए। रमाको वरिपरि एउटा अग्निको घेराजस्तो बाक्लो भिड कसिएको थियो। चेहरामा केही ठूलै प्रलय पो भयो कि भन्ने भाव बोकेर सबै मानिसहरू एकअर्काको मुखामुख गरिरहेका थिए। रमा रूँदैरूँदै घर पछिल्तिरको भागतिर औँलो इंगित गर्छे, भिड उतैतिर लाग्छ।
भिडबाट कसैको आवाज आयो, 'ए रमा त तरूनी भइछे! रमा त छाउ पो भइछे।'
सबै एकअर्काको मुख हेरेर हाँस्न थाल्छन्। बिस्तारै भिड पातलिँदै थियो।
झम्के काकाले रमातिर हेर्दै भन्यो, 'किन रून्छेस् अब? ब्या गर्ने बेला भएछ कान्छी । तेरा बेहुला कन पनि मै काँध चढाउने हुँ।'
उमेरले ४० काटिसकेको झम्के सालको रूखझैँ हट्टाकट्टा थियो। झम्केले आफ्नो शैशवकालमै बा-आमा गुमाएको थियो। उसको संसार जिउने आधार बा-आमा सबैसबै पहिरोले लिएको थियो। त्यसपछि नेटाकोट गाउँका नाता-कुटुम्बका घरमा खाई-खेली पिपलको रुखझैँ हुर्कियो झम्के।
झम्के हाँस्दा उसका सेता दाँत मात्रै देखिन्थे। ऊ टाउकोमा चमेलीको तेल दलेर हिँड्थ्यो। परिस्थितिले होला बिहे भएको थिएन। उसको खाने-बस्ने ठाउँको कुनै टुङ्गो हुँदैनथ्यो। झम्के गोठाला गएका साना केटाहरूलाई बटुलेर अनेक कथाहरू सुनाउँथ्यो।
ठूल्ठूला झाडी तलतिर लिएर ससाना केटाकेटीलाई आफ्नो गुप्ताङ्ग मुसार्न पठाउँथ्यो। झम्के यसैमा आनन्द लिन्थ्यो। यति मात्र होइन, गाउँमा कसैको बिहे हुँदा दुलाहालाई काँध चढाउने, चौथीमा ठूल्ठूला बोका ढाल्ने, कोही बिरामी परे पारिको दबाइखानासम्म डोकोमा बोकेर पुर्याउने कामहरूका लागि गाउँभरि नै परिचित थियो झम्के।
रमाको वरिपरि कसिएको बाक्लो भिड पातलिँदै गयो। रमा घुँघुँ रुँदै थिई।
प्रेमपूर्वक दुबोको टुसाजस्तो रमाको मसिनो कपाल मुसार्दै रमाकी आमाले भनिन्, 'केही हुन्न बा, नारी जातिले यो सब भोग्नै पर्छ। दैवको लीला। बरु यो बेलामा चोखो गर्नुपर्छ। चोखो गर्नेको देवीदेवता सधैँ दाइना हुन्छन्।'
आफ्नो समुद्रजत्रै विशाल पीडालाई यति सरलीकरण गरेको देखेर रमालाई उसको अनन्त वेदना आमाको हृदयको कानले सुन्न नसकेको आभास हुन्छ, अथवा सुन्न नचाहेको बोध हुन्छ।
रमाको सामीप्यताको स्वर्णिम आधार इलाका नै उसकी आमाको सुन्दर काख थियो। उसका गालाहरू बाबाको हातको उमङ्गमय स्पर्शसँग अपरिचित थिए। उसका बा रमा गर्भमा छँदै बम्बई हिँडेका थिए र हिँड्दा रमाकी आमालाई हुँदै गरेको सन्तानका निम्ति खर्च-पानीको जोहो गरेर फर्कने प्रतिज्ञा समेत गरेका थिए। तर रमा जन्मेको तीन दिनपछि घरमा खबर आइपुग्यो। रमाका बा बम्बईमै रेलले काटिएर मरे। रेलले शरीर नै छेदविक्षेद पारिदिएको थियो रे। काटिएर टुक्राटुक्रा भएका अङ्गहरू बटुलेर केही आफन्तहरूले उतै सद्गत पनि गरिदिए अरे। यो खबर सुनेर रमाकी आमा हप्तादिन बेहोस जस्तै भएकी थिइन्।
तर रमालाई लाग्थ्यो, गोधूलिको सिरानमुनि भुसुक्क निदाएर अर्को बिहान टुप्लुक्कै क्षितिजमा उदाउने सूर्यजसरी एक दिन उसका बा बम्बईबाट टेपमा गीत घन्काउँदै गाउँ फर्कनेछन्। ठूलो झोलाबाट मिठाई निकाल्नेछन्। गाउँभरि बम्बईको नासो बाँड्न उसलाई नै पठाउनेछन्। मनको मझेरीमा नितान्त मैनबत्तीझैँ बलिरहेको यही आशाको दियोले होला, नेटाकोट गाउँको निलो आकाशमा हवाईजहाज उडेको देखेपछि आकाशतिर मुख फर्काएर साथीहरूकै स्वरमा लय मिलाएर सबैभन्दा जोरले रमा कराउँथी, 'चिलगाडी, मेरा बुवा कन बोलाइ दिएई।'
मानौँ त्यो हवाईजहाज कुनै हुलाकी चरा हो, जसले हरेकका बुवालाई बम्बई पुगेर घर फर्काइदिने जिम्मा लिएको छ।
आफू सँगसँगै रमाले पनि चिलगाडीलाई आफ्ना बुवालाई फर्काइदिन अनुरोध गरेको सुनेपछि रमाकी साथी भजन पिलिक्क रमातिर आँखा फर्काएर भन्थी, 'तेरा बुवा भए पो त चिलगाडीले बोलाइदिन्छ। मैले सगुनी बजैले भनेको सुन्या हुँ, तेरा बा त उहिले मरिसकेका हुन् अरे।'
रमा अटल विश्वासका साथ गोलीजस्तो जवाफ फर्काउँथी, 'मेरा बुवा फर्किनेछन्। चिलगाडीले बोलाइदिनेछ।'
'तैले तेरा बुवा देखेकी छस् र?' भजन प्रश्न गर्थी
'अँ, देख्या छु के गर्छिस्?' जवाफ फर्काउँथी रमा।
भजन ट्वाल्ल परेर भन्थी, 'कहाँ देखिस् रमा?'
रमा भन्थी, 'सुइनामा।'
रमालाई आमाले च्याप्पै पाखुरामा समाएर घर परको गोठमा लैजान्छिन्, जहाँ उनी आफू छाउ हुँदा पनि बस्ने गरेकी छन्। भुइँमा स्याउलाहरू ओछ्याइदिन्छिन् र एउटा पातलो कम्मल ल्याइदिन्छिन्। गोठ निर्जीव थियो। अँध्यारो थियो, मानौँ यो घाम नपर्ने महादेश हो।
रमाको घुक्कघुक्क अझै राम्रोसँग रोकिसकेको छैन। भक्कानिँदै भक्कानिँदै रमा भन्छे, 'म यहाँ बस्दिनँ।'
आमाको पूरै अनुहार कालोनीलो भएर आउँछ। आमाका आँखाहरू रमाका आँखामा ठोकिन्छन्। यतिबेला रमालाई आमाका आँखाहरू अरू बेलाका जस्ता प्रेमिल र दयालु लाग्दैनन्। आमाका ती आँखाहरू निकै निर्दयी र निर्जीव थिए।
रमा आमाको अनुहारको भाव आकलन गरेर भन्छे, 'पारि पालेवनको भूतले मलाई यहाँ आएर खाइदियो भने?'
रमाको यो अबोध विलाप सुनेर आमा बडो विनम्रतापूर्वक अनुनय-विनयको भावमा बोल्छिन्, 'यस्ता कुरा कसले सिकाउँछ यसलाई ! यस्ता कुरा पनि सुन्छन् त नानी? यदि छाउपडीहरू घरको अगाडिबाट हिँडे भने पनि अनिष्ट हुन्छ। देवीदेवताले ठूलो श्राप दिन्छन्। बाली छोए बाली सुक्छ। गाईभैँसीको गोरस खाए वस्तुभाउका थुन सुक्छन्। यस्तो अपवित्र कुरा सोच्नु पनि हुन्न लाटी।'
रमा मनमनै सोच्छे, के छाउपडीहरू प्यासी बगर हुन्, जसले सारा गाईभैँसीका दूध सुकाइदिन्छन्?
आमा थप्दै जान्छिन्, 'लोकले के भन्ला, समाजले के भन्ला? चलिआएको रीतिथिति। मान्नै पर्छ नानी। कुनै पुरुषको अनुहार हेर्नुहुन्न। बाहिर निस्केलिस, विचार गरेस्।'
रमाको मनमा सर्पको फणाजस्तो घुम्रिएको प्रश्नचिह्न खडा भयो। अनि दाइको अनुहार नि हेर्नु हुन्न र? दाइ पनि त केटा मान्छे हो। फेरि आफ्नो प्रश्नको समाधान उसले आफैँबाट खोज्छे। मलवारबाट दाइ आएको बेला म छाउ भए पनि आमालाई भन्दिनँ।
आमाले रमालाई अन्तिम चेतावनी दिन्छिन्, 'यो बेलामा गरेको पाप सात जुनीसम्म पनि मेटिन्न नानी।'
यति भनेर आमा त्यहाँबाट सिरुबारीको बीचमा बनेको साँघुरो बाटोबाट घरतिर लाग्छिन्। घर र गोठको दूरी लगभग चार-पाँच मिनेटको थियो।
रमाको टाउको दुखिरहेको थियो। तल्लो पेट दुखेर झर्ला जस्तो भएको थियो। उसले अचानक गुप्ताङ्गमा तातो महसुस गरी। आमाले दिएको पातलो डस्ना रमाले फेरि स्याउलामाथि तानतुन गरेर मिलाइ अनि खुट्टा बटारेर त्यसमाथि थचक्क बसी।
केही बेरमा हातमा तेलेभात बोकेर आमा गोठमा आइपुगिन्। आमाले मुस्कुराउँदै भनिन्, 'मेरी नानीलाई पहिलो पालो छाउ हुँदाको सम्झना जीवनभर रहिरहोस् भनी तेलेभात बनाएर ल्याएकी छु।'
यति भन्दै आमाले थाल भुइँमा राखेर थाललाई पन्छ्याइन्। थाल माटोमा घिस्रँदै घिस्रँदै रमाको अगाडि पुग्यो। भोक लागिरहेको थियो। रमाले भातको मिठासमा जिब्रो लटपट्याउँदै लटपट्याउँदै कपाकप भात खाई।
आमा भात दिएर गइसकेकी थिइन्। रमाले भात खाइसकेपछि लोटामा भएको अलिकति पानीले मुख चुठेर थाल पखाली अनि गोठको एक कुनामा थाल घोप्टाएर राखी फेरि आफ्नो पूर्वासनमा गएर बसी।
रमालाई महसुस भयो, आफ्नो बालापनको शरीर छाटिएर घाँटी छुट्टिएजस्तो। सगरमाथाको चुच्चोजस्तै केही छाती उठेजस्तो, नितम्बहरू मैदानझैँ फराकिला भएजस्तो। उसलाई आफ्नै शरीर पनि कुनै चित्रकारले बनाएको सुन्दर पेन्टिङझैँ सुन्दर लाग्यो। ऊ एक लट मुस्कुराई।
निर्जन गोठमा नितान्त एक्ली रमा केहीबेर टोलाई रही र तालचरीजस्तै उडेर आफ्नो विगतमा पुगी।
बालापनमा भजन, चित्र, रमिला, कमल, खेमराज र ऊ भएर बिहे गरी खेलेको सम्झी। उसको घरको खलियानमा तीन जोडीको बिहे हुन्थ्यो। बिहेको शोभा बढाउन सानो भाइ र हस्ते भएर जोडजोरले थाल बजाउँथे। दुलाहाहरू माटोको सिन्दुर दुलहीहरूको सिउँदोको राजमार्गमा भरिदिन्थे।
बिहे खलियानको एक छेउमा भएको माइती घरबाट खलियानको अर्को छेउमा भएको पोइली घरसम्म पुग्थ्यो। ख्यालख्यालको रात पर्थ्यो। सबै पोइ बनेकाहरू आआफ्ना जोई बनेकाहरूसँग सुत्थे। फेरि एकैछिनमा बिहान हुन्थ्यो। केटाहरू माटोको खाना साना खाएर आआफ्नै जोईसँग बिदावादी भएर रमाको घर पछाडिको एकान्तमा बम्बई जान्थे। एकै बेरमा दुई वर्ष हुन्थ्यो।
केटाहरू बम्बईबाट ढुंगाका मिठाइहरू लिएर आफ्नो घर पुग्थे। बिहे गरिमा रमाको बिहे सधैँ चित्रसँग हुन्थ्यो। रमाको दाइलाई रमाले बिहे गरी खेलेको मन पर्दैन थियो।
मावली घरमा बसेर मलवारमा पढ्दै गरेको रमाको दाइ घर आएको बेला बिहे गरी खेल पनि केही समयका लागि बन्द हुन्थ्यो। पछि सबै केटाहरू पढ्न भनेर मलवार झरेपछि उनीहरूको खेलमा पनि पूर्णविराम लाग्यो।त्यसपछि रमाले कहिल्यै बिहे गरी खेलेकी छैन।
बाहिर घाम मधुरो भइसकेछ। गोठमा एक्लै छे रमा। बिस्तारै घामको रङ कुनै ओडारमा पसेझैँ हराउँदै गयो। झ्याउकिरीहरू बासेको आवाज सुनिन थाल्यो। गोठको छाना र भित्ताहरूबाट अँध्यारोका कणहरू गोठभित्र प्रवेश गर्न थाले। रमालाई अब झन् डर लाग्न थाल्यो।
आँखा तिरमिराउन थाले। मानौँ कालो महासागरको बीचमा हराएकी कुनै यात्री हो रमा। यत्तिकैमा गोठबाहिर आमाको आवाज सुनियो, 'रमा! रमा!'
यो आवाजले उसलाई अन्तरहृदयबाटै केही राहत महसुस भयो। उसले केही नबोली अघि धोएर घोप्ट्याइराखेको थाल थापी। आमाले थालमा कोदोका चारवटा रोटी राखिदिइन्। साथमा थियो हरियो खुर्सानीको अचार।
रमाको पेटमा भोकले गहिरो खाल्डो खनिसकेको थियो। उसले कोदोको रोटीमा जिब्रो गाड्दै स्वाद लिएर रोटी खाई।
आमा केही बोलिनन्। रमाले रोटी खाइ नसक्दै त्यहाँबाट आमा अलप भइसकेकी थिइन्। रमाले अब त्यो कालकोठरीमा सात रातहरू काट्नु थियो। रमालाई पहिले कहिल्यै समय यसरी तन्किएको थाहा थिएन। उसलाई मिनेट घण्टाजस्तो र घण्टा दिनजस्तो लागिरहेको थियो। उसका कानहरू काँडाभन्दा पनि तिखा भएका थिए, मानौँ उसका लागि बाहिरबाट आउने हरेक आवाजहरू खतराका घन्टी हुन्।
निष्पट्ट अँध्यारोले रमाको मुटु च्यापिरहेको थियो। अँध्यारो रातको छाती चिरेर स्याल बासेको आवाज गोठका भित्ताहरूमा पटकपटक हिर्काउन आइपुग्थ्यो। रमाको मनमा यस्तो वनझाँक्री बसेको थियो, जसले हरदम पिटिरहेको थियो एउटा ठूलो ढ्याङ्ग्रो। रमा यो विघ्न अँध्यारोले थिचिएजस्ती भएकी थिई, मानौँ संसारको जम्मै अँध्यारोले उसलाई नै थिचिरहेछ।
प्रशान्त मौनतामा डुबेको रातको मौनतालाई चिर्दै अचानक गोठबाहिर केही खस्रिएको जस्तो आवाज सुनियो। यो आवाजले रमा भित्रको डरको आयतनलाई पहाडभन्दा पनि विशाल बनाइदियो। डरैडरका बीच गोठको दैलाअगाडि आएर उभियो एउटा लोग्ने मान्छेको आकृति। त्यो आकृति गोठभित्र प्रवेश गर्यो। उसको शरीरबाट मगमगाइरहेको थियो चमेली तेलको बासना। रमाको बेचैनी सागरभन्दा पनि गहिरो हुँदै थियो। होसहवास उडेको थियो। सर्पको दाँतमा अल्झेको भ्यागुत्तोजस्तै डल्लिएकी थिई रमा।
जब त्यो आकृतिले भित्र पसेर रमातर्फ हात लम्कायो, रमा घाँटी फुट्ने गरी कराई, 'अैया! अैया!' तर उसको आवाज रातको बर्फिलो वायुमण्डलमा कता हरायो कता। त्यो आकृतिले आफ्नो हातले रमाको मुख थिचिदियो। रमाको आवाजलाई गलामै गाडिदियो। त्यो आकृतिले खुकुरीले बोकाको टाउको अलग गरेझैँ रमाको शरीरबाट उसको घाघर अलग गरिदियो।
रमाको मनमा मरुभूमिमा हावाहुरी चलेझैँ भयो। हाडछालाहरू चिसिँदै गए। रमाको गुप्ताङ्गमा केही दुम्सीको काँडा बिझेजस्तो भयो। रमाको शरीर लगभग काँपिरहेको थियो। भाग्न चाहन्थी, खुट्टाले साथ दिएनन्। चिच्याउन चाहन्थी, गला दबाइएको छ। त्यो आकृतिले कुनै नरभंक्षी बाघले भोकाएको बेला भेटाएको सिकारझैँ रमालाई लुछिरह्यो। रमाको गुप्ताङ्गबाट रगत बगेर रगतको ताल बन्यो। तर त्यो नरभंक्षी जनावरजस्तो मान्छे उसको शरीरमाथि निर्वाध उफ्रिरह्यो।रमाले रगतले लतपतिएको दाहिने हातले त्यो नरभंशी आकृतिको निधारमाथितिरको कपाल समाती। सायद नरभंक्षी आकृतिको निधारमा रगतको टीका लाग्यो। फेरि त्यो आकृतिले रमाका दुवै हातलाई आफ्ना दरिला हातहरूले समायो र रमामाथि चैते हुरी चल्दा डालीको फूल हल्लिएझैँ हल्लिरह्यो।
अर्को बिहान नेटाकोट गाउँको आकाशमा घामको टुप्पो देखियो। रजस्वला भएको जस्तो रक्तिम देखिने घाम बिस्तारै नेटाकोटका हरेक घरका टाउकामा ठोकिँदै पहेँलो भयो। रमाकी आमाले गोठको उदास दैलोबाट भित्र हेरिन्। रमा रगतको पोखरीमा डुबिरहेकी थिई। शरीरका कपडाहरू च्यातिएर क्षतविक्षत भएका थिए। रमाकी आमाले त्यो दृश्य पत्याउन सकिनन्। घाँटीमा शब्द अड्किए। आफू उभिएको जमिनको टुक्रा नै भाँसिएला जस्तो भयो। आङ सिरिङ्ग भयो। छातीभित्र डर र करुणा एकैपटक तातो पानीझैँ भलभल उम्लिन लाग्यो।
आमाले कापिरहेका ओठबाट आवाज निकालिन्, 'हे भगवान!'
आमाले कापेको हात अघि बढाएर रगतले लतपतिएको रमाको हात समातिन्। रमाको अनुहारमा हेरिन्। दुवै आँखामा रातो जालो परेको थियो। ओठ नीला भएका थिए। कानका लोती फर्केका थिए। गहभरि आँसु थिए। दाँत बाँधिएका थिए। उसले ओठमात्र चलाएर केही बोल्न खोजी, तर सकिन।
निम्ने बेलाको दीयोझैँ रमाको अनुहार एक छिनका लागि तेजपूर्ण भयो। र त्यसपछि औँसीको रातझैँ अँध्यारो भयो रमा यो दुनिया छाडेर अर्कै दुनियाँमा बिलीन भई।