प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेले आइतबार कुकुर तिहारका अवसरमा काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।
कुकुर तिहारको नेपाली परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले आयोजित कार्यक्रममा मन्त्रीहरू, विदेशी कूटनीतिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो।
उक्त अवसरमा काफ्लेले कुकुर तिहारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्ने बताएकी छन्।
'कुकुर तिहारलाई अन्तर्राष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो,' उनले भनिन्, 'कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पुर्याउन चाहन्छौं।'
उनले कुकुर तिहारलाई एक दिनको उत्सवमा सीमित नराखी वर्षभरि पशु कल्याण, खोप, स्वास्थ्य उपचार र संरक्षणमा ध्यान दिनुपर्ने बताइन्।
कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रेबिज नियन्त्रण, खोप, बन्ध्याकरण र जिम्मेवार पशुपालनमा जोड दिइन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाली धर्म र संस्कृतिमा कुकुरको विशेष महत्त्व रहेको बताए।
कार्यक्रममा काफ्लेले 'बिन्दु' नामक कुकुरको पूजा गरेकी थिइन्। कलाकारहरू बसुन्धरा भुसाल, भुवन चन्द र मिथिला शर्माले सशस्त्र प्रहरीको केनाइन युनिटमा तालिमप्राप्त 'साम्बा' नामक कुकुरलाई सम्मान गरे।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी












