नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समय चेत बुझ्न, हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री खोज्ने बहसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्।
कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्नेभन्दा पनि महत्वपूर्ण प्रश्न समाजमा देखिएको असन्तुष्टि रहेको उनले बताए।
‘समाजमा किन असन्तुष्टि छ?, हामी त्यसमा कति दोषी छौं?,’ मंगलबार सामाजिक सञ्जाल एक्समा शर्माले उल्लेख गरेका छन्, ‘वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ, महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ।’
शर्माले आफू महासमिति बैठककै तयारीमा जुटेको बताएका छन्।
‘अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने विषयप्रति म सजग छु,’ उनले भने।
दलहरूमा फरक विचार र समूह हुनु स्वभाविक रहेको उनले बताएका छन्। महामन्त्री शर्मालाई नेता शेखर कोइरालाले आफू पक्षिय पदाधिकारी र केन्द्रीय सदस्यहरूको मंगलबारको बैठकमा बोलाएका थिए। तर शर्माले उक्त भेलामा नजाने संकेत गरेका छन्।
शर्मा ०७८ मा भएको १४ औं महाधिवेशनमा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भई महामन्त्री निर्वाचित भएका थिए। गत वर्ष पुस ६ गते भएको संसदीय दल चुनावमा भने शर्माले अर्का महामन्त्री गगन थापालाई साथ दिएका थिए।
शर्माले मंसिरमा हुने पार्टीको महासमिति बैठकले पार्टी पङ्तिमा ऊर्जा दिने बताएका छन्। साथै नागरिकमा देखा परेका वितृष्णा चिर्दै नवीन विश्वाससाथ अघि बढ्ने उनले बताए। ०८२ मा १५ औं महाधिवेशन हुने पनि शर्मा बताउँछन्। कांग्रेस विधानअनुसार चार वर्ष अन्तरालमा महाधिवेशन हुनुपर्छ।
कांग्रेसभित्र पनि विभिन्न विचार समूह रहे पनि सिंगो संस्थाले नै विभिन्न विषयमा सार्थक बहस र तार्किक निष्कर्ष दिनुपर्ने उनले बताएका छन्।