प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार गैरजिम्मेवार देखिएको बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै ओलीले अहिलेको गठबन्धन र सरकार गैरजिम्मेवार देखिएको बताए।
‘वास्तवमा यी सरकार चरम अनुत्तरदायी र गैरजिम्मेवार देखिएको छ, स्वेच्छाचारी देखिउको छ,’ ओलीले भने, ‘विकास विरोधी देखिएका छन्। चलिरहेका आयोजना रोकिएका छन्। काम सकेकालाई भुक्तानी दिइएको छैन।’
उनले मुलुकमा सुशासन नभएको पनि बताए।
एसिड आक्रमणकारीलाई कारबाही गर्न आफू प्रधानमन्त्री भएका बेला अध्यादेश ल्याएको स्मरण गर्दै ओलीले एसिड आक्रमणकारीलाई कडा कारबाहीको प्रबन्ध गरिएको बताए।
‘एसिड आक्रमणमा परेकी मुस्कान खातुनको घाउ निको भएको छैन। चार वर्ष नहुँदै सरकारले एसिड आक्रमणकर्तालाई छाडिसक्यो,’ ओलीले भने, ‘अहिले उनी रोएर हिँडेकी छन्। पीडितलाई सरकारले उपचार दिन सकेको छैन।’