नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आइपुगेका छन्।
मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका हुन्।
महासचिव गुटेरेस गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट लुम्बिनी भने हेलिकप्टरबाट आएका हुन्। महासचिव गुटेरेसको स्वागतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आइसकेका छन्।
महासचिव गुटेरेस पोखराबाट सिधै लुम्बिनी आएका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट लुम्बिनी आएका हुन्।
बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरेका छन्।
महासचिव गुटेरेस डेढ घण्टा लुम्बिनीमा औपचारिक कार्यक्रममा रहने लुम्बिनी विकास कोषले जनाएको छ।
गुटेरेसले शान्ति दीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गर्नेछन्।
शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल जानेछन्।
सो क्रममा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कला संस्कृति सहित स्वागत गर्ने कार्यक्रम छ।
गुटेरेसले लुम्बिनीको अवलोकनपछि पत्रकारहरुमार्फत शान्तिभूमिबाट शान्तिको सन्देश सहितको सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
यसअघि सन् २००८ नोभेम्बरमा वान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए।
गुटेरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन्।
सन् १९५५ ड्याग ह्यामसोल्ड महासचिव भएको बेला नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो। ड्यागले सन् १९५९ मा लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ।
यद्यपि महासचिवका रुपमा भने भ्रमण भएको थिएन। तर पनि ड्यागलाई राष्ट्रसंघको महासचिवका रुपमा लुम्बिनी भ्रमण गर्ने पहिलो व्यक्ति मानिन्छ।
त्यस्तै सन् १९६७ अप्रिलमा ऊ थान्त, सन् १९८१ फेब्रुअरीमा कर्ट वाल्डहिम, सन् १९८९ मार्चमा ह्याभियर पेरिज द कोयरले लुम्बिनीको भ्रमण गरेका थिए।
संयुक्त राष्ट्रसंघका महासचिवका रुपमा ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्वपूर्ण रुपमा लिइन्छ। ऊ थान्तले सन् १९६७ अप्रिलमा लुम्बिनी भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि एउटा अन्तर्राष्ट्रिय समिति गठन भएको थियो।
ऊ थान्तले नै लुम्बिनीको विकासका लागि गुरुयोजना बनाएर सोहीअनुसार अघि बढ्न नेपाल सरकार समक्ष प्रस्ताव गरेपछि जापनिज वास्तुविद् प्राध्यापक केन्जियो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना बनाएका थिए।
तर सरकारले ४५ वर्षसम्म पनि लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न सकेको छैन।