नेकपा एमालेले आज चियापान कार्यक्रम गर्दैछ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए।
यसअघि एमालेले मंगलबार (कात्तिक १४ गते) गते चियापान गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले चियापान एक दिन सारिएको हो।
चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको नेता रिजालले जानकारी दिए।
पायक पर्ने सर्वसाधारणहरू पनि चियापान समारोहमा उपस्थित हुन सक्नेछन्।
दसैं, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वका अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना साटासाट गर्छन्। सत्तारूढ दल नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन चियापन गरेको थियो।