राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका थप हिमालहरू पनि आरोहणका लागि खुला गर्नुपर्ने बताएका छन्।
नेपालले अहिले विभिन्न २७ हिमाल आरोहणका लागि अनुमति दिने गरेको छ।
आरोहण अनुमति नदिइएका हिमालहरू तत्काल आरोहण अनुमति दिँदै प्रबर्द्धन गर्न राष्ट्रपति पौडेलले सरकारलाई आग्रहसमेत गरेका छन्।
पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उनले सरकारलाई ती हिमालहरूको आरोहण खुला गर्दै व्यवस्थापन र प्रबर्द्धनको जिम्मेवारीबारे उपयुक्त निर्णय लिन आग्रह गरेका छन्।
हिमालहरूको व्यवस्थापन र प्रबर्द्धनका लागि नेपाल पर्वतारोहण संघ राम्रो साझेदार हुन सक्ने उनले बताए।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण महासंघ र युनियन अफ एशियन अल्पाइन एसोसिएसनमार्फत संघले कायम राखेको विश्वव्यापी सञ्जालले पर्वतीय पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए।
पर्वतीय पर्यटनको विकास र प्रबर्द्धनका लागि थप काम गर्न सरकार र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उनले सुझाव दिएका छन्।