निर्वाचन आयोगले आगामी फागुन २१ गतेसम्म रिक्त हुने राष्ट्रिय सभा सदस्यका लागि माघमा निर्वाचन गर्ने तयारी गरेको छ।
बुधबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फागुनसम्म रिक्त हुने १९ जना राष्ट्रिय सभा सदस्यका लागि माघमा निर्वाचन गर्ने तयारी रहेको जानकारी गराएका हुन्।
‘मिति नेपाल सरकारले तोक्नुपर्ने भएको हुनाले आयोग तयारी अवस्थामा छ,’ उनले भने, ‘सम्भवतः माघको १०, ११, १२ भित्रमा कुनै उपयुक्त समयमा हामी राष्ट्रिय सभाको रिक्त हुने १९ वटा पदको निर्वाचन गर्छौं।’
त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न पदहरूमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उनले बताए।
‘हामी ३ महिनाको समय भयो भने जुनसुकै अवस्थामा पनि निर्वाचन सम्पन्न गर्नसक्छौँ । आवश्यक तयारी भइरहेको छ,’ उनले भने।
थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत मतदाता नामावली संकलन गर्ने काम अगाडी बढाउने पनि जानकारी दिए।
त्यस्तै विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीहरुको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडी बढेको बताए। -न्युज एजेन्सी नेपालबाट