प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शुन्य समयमा बोल्ने पालो आयो- नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको।
सभामुख देवराज घिमिरेले गौतमलाई बोल्न समय दिए। गौतम बसेको ठाउँबाट उठे तर आफूले पाएको समयभर मौन उभिइरहे।
उनी उभिँदा सांसदहरूले भने समर्थन जनाएका थिए।
केहीबेरपछि सभामुख घिमिरेले बोल्न अर्का सांसदलाई समय दिएपछि गौतम बसे।
शुन्य समयमा सांसदहरूले एक मिनेटभित्र बोलिसक्नुपर्छ।
समय दिए पनि नबोलेपछि सांसद गौतमलाई सभामुख घिमिरेले 'बोल्न समय दिएको छु' भनेका थिए। तैपनि गौतम बोलेनन्।
सांसद गौतमलाई सेतोपाटीले संसद बैठकमा किन मौन बस्नुभएको भनेर सोधेको छ।
‘मौनतामा कति तागत छ भनेर देखाउन खोजेको हुँ,’ उनले भने, ‘मौनतामा कत्रो शक्ति छ।’
सांसदहरूले शुन्य समयमा राखेका विषयबस्तु सरकारले नसुनेकोमा मौन बसेर विरोध गरेको संकेत उनले गरे।
‘मौनतामा धेरै कुरा हुन्छ, तपाईंहरू पनि अर्थ लगाउनुस्। मौनतामा धेरै सन्देश छ। अति भइसक्यो नि! अब त केही न केही रूपले ध्यानाकर्षण त गराउनुपर्यो,’ उनले भने।
भिडिओ: