राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशाकै रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि कोरियाली सरकारलाई आग्रह गरेका छन्।
नेपालमा कृषि विकासको प्रचुर सम्भावना रहे पनि परम्परागत प्रणाली यसको वाधक भएको बताउँदै उनले प्रविधिमा ठूलो फड्को मारेको कोरियाले प्रविधि र लगानीमार्फत् सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले कोरियाका कृषि, खाद्य तथा ग्रामिण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनसँग बिहीबार शिष्टाचार भेट गरेका थिए।
‘नेपालमा कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको विकास भएमा देश समृद्ध हुन्छ। तर हाम्रो कृषि आम्दानी र रोजगारीको रुपमा पेशा बन्न सकेको छैन। सबै किसान छन, सबै वेरोजगार जस्तै छन्’, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘कृषिलाई रोजगारी र आम्दानीको पेशा बनाउन नयाँ प्रविधि र लगानीको आवश्यकता छ। कोरियाले प्रविधिमा गरेको चमात्कारिक विकासबाट नेपालले लाभ लिन सक्यो भने कृषि महत्वपूर्ण पेशाको रुपमा विकास हुन्छ।’
राष्ट्रपति पौडेलले नेपालमा कृषि औजार कारखाना, रासायनिक तथा प्राङ्गारिक मल कारखाना, कृषि चिस्यान केन्द्रको स्थापना, कृषि उत्पादन प्रोसेसिङ उद्योग लगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको बताए।
राष्ट्रपति पौडेलले कोरियाको कृषि क्षेत्रमा धेरै नेपाली श्रमिक कार्यरत रहेको र उनीहरुले राम्रो पनि गरिरहेको उल्लेख गर्दै कृषि श्रमिकलाई समानरुपमा व्यवहार हुने विश्वास व्यक्त गरेका थिए।
राष्ट्रपति पौडेलले कोरियामा रहेको नेपालीहरुको बचतलाई जम्मा गर्न नेपाली बैंकको स्थापना हुन सके सहज हुने र यसका लागि आवश्यक पहल लिन पनि आग्रह गरेका थिए।
कोरियाका कृषि, खाद्य तथा ग्रामिण मामिला मन्त्री ज्योङ ह्वाङ–गेउनले नेपालको कृषि क्षेत्रको विकासमा हरेक किसिमका सहयोग गर्न कोरियाली सरकार इच्छुक रहेको बताएका थिए।
मल कारखाना स्थापनाका लागि पहल गर्ने उनले बताए। कोरियामा नेपाली बैंक स्थापनाका लागि नेपालबाट फर्कनेवित्तिकै सम्बन्धित निकायसँग छलफल गर्ने उनले बताए।