राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पले गरेको धनजनको क्षतिको बारेमा जानकारी लिँदै पीडितको उद्धार, राहत तथा घाइतेहरूको शीघ्र उपचारमा तीव्रता दिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
पोखरेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिबार टेलिफोन गरेर पौडेलले सो आग्रह गरेका हुन्।
पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गरेका थिए।
राष्ट्रपति पौडेलले यसअघि बिहान भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउँदै विपद्को यस घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आमनागरिकलाई अपिल गरेका थिए।
जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।