नेकपा (एकीकृत समाजवादी) उपमहासचिव एवं नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्प प्रभावित क्षेत्रमा खट्न पार्टी पंक्ति, आम नागरिक र जनप्रतिनिधिहरूलाई सामूहिक आग्रह गरेका छन्।
शुक्रबार राति ११ः४७ बजे गएको विनाशकारी भूकम्पबाट कर्णाली प्रदेशका तीन जिल्लामा ठूलो धनजनको क्षति भएको छ।
जाजरकोट र पश्चिम रूकुममा १३२ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्। हजारौं घरहरू भत्किएका छन् भने सडक र पुलहरूमा पनि क्षति भएको छ।
कर्णाली प्रदेश कमिटीका इन्चार्ज समेत रहेका ज्वालाले उद्धार र राहत कार्यमा जुट्न सिंगो कर्णाली प्रदेश कमिटी र जनवर्गीय संगठनहरूलाई निर्देशन दिएका छन्।
शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्री ज्वालाले पार्टी इन्चार्जको हैसियतमा पार्टी पंक्तिलाई राहत र उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा सहजीकरण गर्न पार्टीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाको नेतृत्वमा टोली नै खटाउने निर्णय भएको ज्वालाले बताए।
‘विनाशकारी भूकम्पबाट जाजरकोट र पश्चिम रूकुममा ठूलो क्षति भएको छ भने सल्यानका सयौं घरहरू भत्किएका छन्, ती ठाउँमा उद्धार र राहतका लागि प्रदेश कमिटीबाट टोली खटाएका छौं,’ मन्त्री ज्वालाले भने।
भूकम्प प्रभावित क्षेत्रमा सहजीकरण गर्न प्रदेश अध्यक्ष थापाको नेतृत्वमा ठगेन्द्रप्रकश पुरी, कृष्ण बिसी, देवी ओली र कमानबहादुर खड्कालाई खटाइएको छ।