उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंह लगायतलाई आज श्रद्धाञ्जली अर्पण गरेका छन्।
आइतबार दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिन अर्पण गरेका हुन्। सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो।
उपप्रधानमन्त्री खड्काले भूकम्पपीडितको उपचार, राहत र पुनःस्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरेर एकैदिनमा घाइतेलाई उद्धार गर्न सरकार सफल भएको बताउँदै आइतबारदेखि राहत वितरण सुरू गरिने जानकारी दिए।
‘दुई दिनभित्र सबै भूकम्प पीडित नागरिकसम्म पुग्ने गरी राहत सामग्री पठाएका छौं, थप केही आउने क्रम जारी छ’, उनले भने, ‘जसरी भूकम्पका घाइतेको उद्धार गरेका छौं, सोही गतिमा राहत पनि वितरण गर्छौं।’
उपप्रधानमन्त्री खड्काले राहत लगत्तै पुनःनिर्माणको काममा सुरू हुने बताए।
उनले घाइतेहरूको उपचार सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा भइरहेको बताउँदै उपचारमा कुनै किसिमको कमी हुन नदिने प्रतिबद्धता जनाए।
गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण नलगाड नगरपालिकाका उपमेयर सिंहसहित १५७ जनाको ज्यान गएको थियो। यस भूकम्पले जाजरकोट र पश्चिम रूकुममा बढी क्षति पुर्याएको हो।