राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशमा राख्ने भनेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको छ।
रास्वपाले यही कात्तिक २२ र २३ गते मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक राखेको थियो।
तर गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र गरी ६.४ म्याग्नेच्युडको भूकम्प गएकाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक स्थगित गरिएको पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए।
‘अर्को सूचना नआउञ्जेलसम्मलाई केन्द्रीय समिति, संसदीय दलको बैठक स्थगित गरिएको छ,’ उनले भने।
संयुक्त बैठकमा पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि छलफल हुने कार्यसूची थियो।
रास्वपाले पार्टीको राजनीतिक, वैचारिक दस्तावेजमाथि विचार विमर्श चलाइरहेको छ। यसअघि रास्वपाका केन्द्रीय नेता, सांसदहरू
जनताको आवाज सुन्न र दस्तावेजमा ती भावना समेट्न गाउँ गएका थिए। पार्टी सभापति रवि लामिछाने रोल्पा पुगेका थिए।
त्यसपछि प्रबुद्ध व्यक्तित्वसँग नीति मन्थन गरेको रास्वपाले मधेस प्रदेशमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न लागेको थियो।