प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने ८ राजनीतिक दलको सर्वदलीय बैठक बोलाएका छन्।
बैठक मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।
उनकाअनुसार बैठक भूकम्पपछिको राहत र पुनःस्थापनाबारे छलफल गर्न बोलाइएको हो।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत दललाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले एक वर्षभित्र भूकम्पपीडितलाई आवास उपलब्ध गराउने गरी काम थाल्न सरकार तत्पर रहेको बताउँदै आएका छन्।
गत शुक्रबार राति ११ः४७ बजे जाजरकोट, बारेकोट–१ रामीडाँडा केन्द्र गरी गएको भूकम्पले १५० जनाभन्दा बढीको ज्यान गएको थियो।