प्रदेशसभा निर्वाचनको एक वर्षपछि कोशी प्रदेशमा संसदीय समिति चयन प्रक्रिया सुरू भएको छ।
‘मिनी संसद्’ मानिने प्रदेशसभाका सात वटा समितिमा रहने सदस्यहरुको नाम दलहरूले प्रदेशसभा सचिवालयलाई पठाएका छन्।
‘प्रदेशसभा सचिवालयमा दलहरूले कुन समितिमा को रहने भन्ने नामावली पठाएका छौं’, नेपाली कांग्रेसका सांसद भूपेन्द्र राईले भने ‘अब चयन प्रक्रिया सुरू हुन्छ।’
सभामुखविहीन प्रदेशसभा वर्ष दिन बित्न लाग्दासम्म पनि संसदीय समिति नेतृत्वविहीन छन्।
प्रदेशमा ७ वटा विषयगत समिति छन्। प्रदेशमा न्याय, प्रशासन तथा विधायन समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति, सुशासन तथा योजना समिति, सामाजिक विकास समिति, अर्थ समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र सार्वजनिक लेखा समिति छन्।
कोशी प्रदेशमा ९३ जना सांसद छन् । प्रदेशमा उपसभामुखसहित नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका एक सांसद छन्।