नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य आरसी चापागाईंको निधन भएको छ।
लामो समयदेखि मुटु, मिर्गौला, फोक्सो लगायतका रोगहरूका कारण अस्वस्थ रहेका चापागाईंको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार अपराह्न ७४ वर्षको उमेरमा निधन भएको हो।
नेकपा एमाले अध्यक्ष केपी ओली तथा उपाध्यक्ष विष्णु पौडेलले चापागाईंको निधनले स्तब्ध भएको भन्दै शोक व्यक्त गरेका छन्।
स्याङ्जाको किचनासमा २००७ साल वैशाख १९ गते जन्मेका चापागाईं विद्यार्थी कालदेखि नै स्याङ्जाको पूर्वी क्षेत्रमा जाली फटाहा विरोधी आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट राजनीतिमा संलग्न भएका थिए।
अध्ययनको क्रममा बनारसमा पुगेका चापागाईं त्यहीँ नेकपाका संस्थापक नेता पुष्पलालको सम्पर्कमा पुगेका थिए।
लामो समय नेकपाका संस्थापक महासचिव पुष्पलालको सहयोगी बनेर काम गरेका उनी पुष्पलालको निधनपछि उनको अस्तु भूमिगत रूपमा नेपाल लिएर फर्किएका थिए।
नेकपा एमाले अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीका अनुसार पुष्पलालको बनारसमा देहावसान भएपछि उनको शव ल्याउन तत्कालीन पञ्चायती व्यवस्थाले प्रतिबन्ध लगाएका कारण चापागाईंले भूमिगत रूपमै उनको अस्तु काठमाडौं पुर्याएको र शहिद गंगालाललाई राणाहरूले गोली हानी हत्या गरेको स्थानमै विसर्जन गरिएको थियो।
बनारसमा पुष्पलालसँगै नजिक बसेर काम गरेका चापागाईंलाई त्यही कारणले सबैले माइला दाइ भनेर चिन्दथे।
कम्युनिष्ट आन्दोलनका विषयमा विभिन्न पुस्तकहरू लेखेका चापागाईं बुटवल क्षेत्रमा रहेर नियमित लेख रचनाहरू प्रकाशन गरिरहन्थे।
नेकपा विभाजनपछि केशरजंग रायमाझीको समूहमा लागेका चापागाईं बर्मा र रसियामा अध्ययनको अवसर प्राप्त गरेका थिए। रसियाबाट अध्यापन गरेर फर्केपछि रूपन्देहीमै भूमिगत रूपमा सक्रिय चापागाईं २०४६ सालको अन्दोलनमा मानन्धर समूहको तर्फबाट प्रतिनिधित्व गरेका थिए भने २०४८ सालमा उक्त पार्टीको कमिटी एमालेमा विलय बनाएका थिए।
बीचका केही समय नेकपा एमालेबाट असन्तुष्ट रहेका उनी २०६२/०६३ सम्म मार्क्सवादी विचार मञ्च हुँदै पुनः नेकपा एमालेमै प्रवेश गरेका थिए।
स्वर्गीय चापागाईंका श्रीमती थानकुमारी चापागाईं एमाले लुम्बिनी प्रदेश सदस्य तथा यसअघिको सांसद हुन्।