प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ।
समितिमा मंगलबार सुरक्षण मुद्रण विधेयकबारे छलफल गर्ने तयारी थियो।
तर सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। विधेयक छलफल गर्न संसद नियमावलीका अनुसार मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्छ।
नेकपा (एमाले) का सांसद रघुजी पन्तले नियमावलीको उक्त व्यवस्थाबारे ध्यानाकर्षण गराएका थिए। उनले मन्त्रीको उपस्थितिबिना छलफल गर्न नमिल्ने बताएका थिए।
त्यसपछि समितिका सभापति भानुभक्त जोशीले संसद नियमावलीको १७८ को दफा ४ हेरेका थिए।
उनले मन्त्री अनुपस्थित भएकोले बैठक चल्न नसकेको जानकारी गराए। मन्त्री शर्मा अस्वस्थ भएकोले बैठकमा अनुपस्थित भएको सभापति जोशीको भनाइ छ।
(न्युज एजेन्सी नेपाल)