नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बाटै सहिदहरूप्रति अवमूल्यन गर्ने काम भएको बताएका छन्।
विराटनगरमा मंगलबार 'समुदायमा कांग्रेस अभियान' सुरू गर्दै कोइरालाले प्रधानमन्त्रीबाटै सहिदहरूको अवमूल्यन हुने काम भएको आरोप लगाएका हुन्।
‘प्रजातन्त्रका निम्ति बलिदानी दिएका सहिदहरूको अवमूल्यन प्रधानमन्त्रीबाटै भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीजीले तीन हजार सहिद थप गर्ने कुरा गर्नु भएको छ। सहिद दिवसका दिन सहिदहरूलाई अवमूल्यन गर्नु भएन।’
सहिदको वास्तविक परिभाषालाई अगिंकार गरेर अघि बढ्नुपर्ने उनले बताए। ‘सहिदको संख्या थप गर्दा सहिदकै अपमान हुने मैले बुझेको छु,’ कोइरालाले भने।
कोइरालाले कांग्रेसका नेताहरूले समुदायमा पुगेर जनभावना बुझ्ने बताए। उनले समुदायस्तरमा देखिएका कमीकमजोरीलाई आत्मसात गर्दै सच्चिएर कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए।