जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेस पछि परेको बताएका छन्।
समाजवादी महिला संघ मधेश प्रदेश समितिले जनकपुरधाममा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले शासकवर्गको मधेसप्रतिको विभेदकारी नीतिका कारण शिक्षा , स्वास्थ्य, रोजगार जस्ता आधारभूत क्षेत्रमा मधेस पछि परेको बताए ।
उनले मधेसी जनताले शासक वर्गको रबैयाविरुद्ध गरेको विद्रोहको बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भए पनि केन्द्रीकृत मानसिकता बोकेका शासकवर्गको मधेसप्रतिको रबैया अझै सुध्रिन नसकेको बताए।
समथर भुभाग , उर्बर भूमि जस्ता विकासका आधारभूत तत्वहरु मधेसमा भए पनि सबै क्षेत्रमा मधेश पछि पर्नुको एक मात्र कारण विगतका गलत नीति, योजना र विभेदकारी शासन प्रणाली नै रहेको भन्दै अध्यक्ष यादवले मुलुक संघिय शासन प्रणालीमा गए पनि विभेद उन्मूलन हुन नसकेको दाबी गरे ।
मधेस सरकारलाई दिने बजेट लगायतको सेवा सुविधामा समेत विभेद भैरहेको उल्लेख गर्दै अध्यक्ष यादवले विभेद अन्त्य नभएसम्म मधेसले विकास निर्माणमा फड्को मार्न नसक्ने बताए ।