राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक शुक्रबार बिहान बस्दैछ।
बैठक बिहान ११ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।
आज बस्ने बैठकमा यसअघि पार्टी सभापति रवि लामिछानले सोधेका प्रश्नहरूमाथि छलफल हुने गरी कार्यसूची तय गरिएको छ।
सभापति लामिछानेले यसअघि पार्टीका प्रत्येक सांसदलाई तीनवटा प्रश्न पठाएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
उनका अनुसार सभापति लामिछानेले संविधान जारी भएपछि तत्काल बन्नुपर्ने ४० वटा कानुनको अवस्थाबारे सोधेका छन्।
‘सभापतिज्यूले ती विधेयकहरू कुन—कुन समितिमा छन्, तपाईं सदस्य भएको समितिमा छन् कि छैनन् भनेर सबै
सांसदहरूलाई प्रश्न पठाउनुभएको छ, त्यसबारे छलफल हुनेछ,’ उनले सेतोपाटीसँग भने।
हिउँदे अधिवेशनमा पेश गर्ने गरी सरकारले ६० वटा भन्दा बढी कानुन मस्यौदा गरिरहेको छ। त्यसमा रास्वपाले उठाएका मुद्दाहरू, चुनावी वाचाहरू परेका छन् कि छैनन् भनेर पनि सभापति लामिछानेले सोधेको र आजको बैठकमा त्यसबारे पनि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए।
यस्तै, आउँदो अधिवेशनमा पार्टीका तर्फबाट सांसदहरूले उठाउनुपर्ने मुद्दा, नागरिक अधिकार, स्थानीय सरोकारका विषय पनि छलफल हुने उनले बताए।
संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरू हुँदैछ। यसैबीच रास्वपाले आइतबार (माघ २१) गतेबाट अलपत्र विकास आयोजनाहरूको निर्माण सम्पन्न गर्न दबाब दिने ध्येयले पदयात्रा गर्दैछ।
रास्वपाले २१ जना सांसदहरूको अगुवाइमा अलपत्र विकास आयोजनामा दबाब यात्रा गर्न लागेको हो।
माघ २१ गते मेलम्ची खानेपानी आयोजनाबाट दबाब यात्रा थाल्ने तयारी गरिरहेको छ। यसबारे पनि आजको बैठकमा छलफल हुनेछ।
रास्वपाले यसअघि पुस ९ देखि ११ गतेसम्म ११३ किलोमिटर नारायणगढ—बुटवल सडक खण्डमा पनि दबाब यात्रा गरेको थियो।