प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार सिंहदरबारमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफल सकेर बाहिरिएका अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा प्रधानमन्त्रीसँग छलफल भएको बताए।
‘समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने सन्दर्भमा कुरा भएको हो। विधेयक (टिआरसी) बारे छलफल भइराखेको छ, त्यसबारे पनि कुरा भएको छ,’ अध्यक्ष ओलीले भने, ‘विधेयकलाई राम्रोसँग मिलाएर छिट्टै टुंग्याऔं भन्ने कुरा भएको छ।’
टिआरसीमा एमालेले राखेका अडान भने यथावत् नै रहेको अध्यक्ष ओलीको भनाइ थियो।
सहमति नभए सरकारले टिआरसी विधेयक संसदमा बहुमतबाट पारित गर्ने बताएको विषयमा अध्यक्ष ओलीलाई सोधिएको प्रश्नमा उनले भने, ‘बहुमतले किन पास गर्नुपर्यो, राम्रो बनाएर सहमतिले पास गरे भइहाल्यो।’
यही माघ २२ गते अपराह्न ४ बजेदेखि संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठक सुरू हुँदैछ। सरकारले टिआरसीलगायत विभिन्न विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ।