नेपाली कांग्रेसले राष्ट्रिय सभाको चुनावमा कोशीको परिणाम अनपेक्षित भएको निष्कर्ष निकालेको छ।
गत माघ ११ गते भएको चुनावमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएकी थिइन्।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दल बैठकले सत्ता गठबन्धनका विजयी १८ जनालाई बधाई दिने निर्णयसमेत गरेको छ।
सत्ता गठबन्धनका दलहरूसँग तालमेल गरी चुनावमा गएको कांग्रेसबाट १० जना राष्ट्रिय सभा सदस्य चुनिएका थिए।
प्रमुख सचेतक रमेश लेखकले बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोशीमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार एक जना पराजित हुनुलाई अनपेक्षित परिणाम रहेको निष्कर्ष निकालिएको बताए।
साथै माघ २२ गतेदेखि संघीय संसदका दुवै सदनको बैठक सुरू हुने भएकोले प्रभावकारी भूमिका खेल्ने विषयमा पनि छलफल गरिएको उनले बताए।
उनले संसदीय दल कार्यसमितिलाई पूर्णता दिने निर्णय भएको पनि बताए। केन्द्रीय समितिले निर्वाचन समिति तोक्ने र कार्यसमितिलाई पूर्णता दिइने उनले जानकारी दिए।
‘अब हामी संसदीय दल कार्यसमितिको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छौं। निर्वाचन समिति तोकिएपछि कार्यसमितिलाई पूर्णता दिइन्छ,’ उनले भने।