नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद विनोद चौधरीले आफ्ना भाइसमेत रहेका व्यापारी अरूण चौधरी पक्राउबारे पार्टी संसदीय दल बैठकमा असन्तुष्टि पोखेका छन्।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले अरूणसहित तीन जनालाई बिहीबार पक्राउ गरेको थियो।
यो पनि: पक्राउ परेका अरूण चौधरीसहितलाई कीर्ते कागज र ठगीअन्तर्गत कारबाही हुन्छ: सिआइबी
यसबारे शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दल बैठकमा चौधरीले बोल्न समय मागेका थिए।
संसदीय दल नेता शेरबहादुर देउवाले समय दिएपछि बोलेका सांसद चौधरीले राज्यले आतंक मच्चाएको र प्रतिशोध साँधेको भन्दै असन्तुष्टि जनाएको एक सांसदले जानकारी दिए। आफूहरूले नियमअनुसार नै उक्त जग्गा लिएको दाबी चौधरीको थियो।
सांसद चौधरीले यस विषय उठाए पनि पार्टी सभापतिसमेत रहेका देउवा र अरू सांसदले खासै यसबारे चर्चा गरेका थिएनन्।
तर बैठक सकिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसद सुनिल शर्माले अरूणको गिरफ्तारीबारे सांसद विनोदले बैठकमा कुरा राखेको बताए।
शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारले ठूला उद्योगपति र घरानालाई पुराना केसलाई लिएर गिरफ्तार गर्ने र पैसाको डिल गर्ने गरेको आरोप लगाएका थिए।
संसदीय दलको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पत्रकारहरूसँग कुराकानी गर्दै सांसद चौधरीले बैठकमा आफ्ना कुरा राखेको बताए।
‘उहाँले बैठकमा आफ्ना कुरा राख्नुभयो। खासगरी अरूण चौधरीजीको पक्राउका विषयमा संसदीय दलको ध्यानाकर्षण गराउनुभएको हो। नेताहरू र सांसदहरूले उहाँका कुरा गम्भीरतापूर्वक सुन्नुभयो,’ उनले भने, ‘यसमा पार्टीले कुनै आधिकारिक धारणा बनाएको छैन।’