राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको आगामी अधिवेशनमा पार्टीका तर्फबाट गैरसरकारी बिल पेश गर्ने गरी छलफल थालेको छ।
शुक्रबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सार्वजनिक चासो र सरोकारका क्षेत्रमा विषय सम्बोधन गर्न प्राइभेट बिल (गैरसरकारी विधेयक) लैजाने गरी छलफल गरेको सचेतक निशा डाँगीले जानकारी दिइन्।
‘आगामी दिनमा गैरसरकारी बिलमा पनि काम गर्नेछौं, त्यसमा छलफल भएको छ,’ उनले भनिन्।
आजको बैठकमा विगत अधिवेशन र त्यसमा पार्टीका सांसदहरूको प्रस्तुतिको समीक्षा गरेको मनिष झाले बताए।
‘विगतको समीक्षा र आगामी अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्यौं। अब हाम्रो प्राथमिकता के हुन्छ भनेर पनि छलफल भयो,’ उनले भने, ‘सदनमा पाँच किसिमको साझेदारी र सात किसिमको प्रस्तुति हुने गर्छ। विगतमा जस्तै शून्य, विशेष, आकस्मिक, दफावार छलफल, सैद्धान्तिक छलफल, सार्वजनिक महत्तवको प्रस्तावमाथि छलफल हुने गर्छ। तिनमा हाम्रो प्रस्तुति के भयो? अब हाम्रो चुनौती के हो? हामीमाथि अपेक्षा के छ भनेर हामीले गहन र घनिभूत छलफल गर्यौं।’
उनले सदन भनेको ब्याच लगाएर माननीय कहलिएर जानेमात्र ठाउँ नभएको बताउँदै सांसदसँग नागरिकका अपेक्षा रहेको बताए।
‘हामीबाट धेरै अपेक्षा हुन्छ। परीक्षाको घडी पनि हो। निष्कर्षमा भन्दा परीक्षाभन्दा अगाडिको कम्बाइन स्टडीजस्तो पनि थियो आजको बैठक, सबैले एकअर्कालाई सुझाव दियौं,’ उनले भने।
संसद्को हिउँदे अधिवेशन माघ २२ गते अपराह्न ४ बजेबाट सुरू हुँदैछ।
यसैबीच रास्वपाले माघ २१ गतेबाट २१ वटा अलपत्र विकास आयोजनामा दबाब यात्रा सुरू गर्दैछ। आजको बैठकमा त्यसबारे पनि छलफल भएको थियो। माघ २१ गते मेलम्ची खानेपानीबाट दबाबयात्रा सुरू गर्ने रास्वपाले जानकारी दिएको छ।
रास्वपाले यसअघि पुस ९ देखि ११ गतेसम्म नारायणगढ–बुटवल ११३ किलोमिटर सडकको पदयात्रा गरी निर्माण चाँडो सक्न दबाब दिएको थियो।