नेकपा एमालेको संसदीय दलको बैठक आजदेखि बस्दै छ।
संसदको अधिवेशन सुरू हुन लाग्दा एमालेले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे संसदीय दलमा छलफल गर्न लागेको हो।
आज मध्याह्न १२ बजेदेखि बैठक सुरू हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सेतोपाटीलाई जानकारी दिए।
बैठकमा पर्सीदेखि सुरू हुने संसदमा प्रभावकारी ढंगले कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने उनले बताए।
‘सरकारले नागरिकका सरोकारका विषयलाई महत्व दिएको देखिँदैन। सरकारलाई नागरिकप्रति जवाफदेही बनाउन संसदबाट सरकारलाई खबरदारी गर्ने र दवाब दिने भन्ने विषयमा छलफल हुन्छ,’ उनले भने।
उनले संसद र समितिका बैठक चलेका बेला सबै सांसदहरूलाई अनिवार्य उपस्थिति हुने सुनिश्चित गराउने र सांसदहरूले उठाउनुपर्ने विषयमा छलफल हुने बताए।
‘सांसदहरू कमजोर हुँदा उनीहरूप्रति जनताको भरोसा कम हुँदै गएको जस्तो देखिएको छ। जनतामा सांसदहरूको भरोसा र विश्वास डगमगाउन नदिन नागरिक सरोकारको विषयलाई कसरी अझै प्रभावकारी ढंगले उठाउने भन्ने छलफल हुन्छ,’ बर्तौलाले भने, ‘विशेषगरी संसदलाई कसरी सक्रिय बनाउने भन्नेबारे छलफल गर्न बैठक राखिएको हो।’
समसामयिक र विविध विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक लामो राखिएको जानकारी दिए। बैठक भोलि पनि बस्नेछ।