नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा फेरि राजतन्त्र फर्कन सम्भव नभएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रले फेरि फर्केर आउने चाहना राखेको भएपनि त्यो सम्भव नभएको बताएका हुन्।
उहाँले राजतन्त्रले प्रकृतिको एकलौटी लुट मच्चाएको, लुम्बिनी विकास कोषमा लुट मच्चाएको, पशुपति विकास कोषमा लुट मच्चाएको, जनकपुरमा पनि त्यही ढंगले बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको आरोप लगाए।
‘न खोजे, न अनुसन्धान, न कुनै कसैले प्रश्न गर्ने ? यस्तो स्थिति थियो,’ उनले भने, ‘कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन । त्यसो हुनाले यहाँ राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक हो।’
अध्यक्ष नेपालले देश चलाउने भए बरू नेता भएर चुनाव लड्न र चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजालाई सुझाव दिए।
‘चुनाव जितेर आए हुन्छ । राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिए हुन्छ । अहिले राष्ट्रपति हुने मान्छेको अभाव भएर होइन । काम गर्ने भनेको प्रधानमन्त्रीले हो, प्रधानमन्त्री बन्न तपाई चाहनुहुन्छ भने तपाई आउनुस्,’ उनले भने। (न्युज एजेन्सी नेपालबाट)