प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताएका छन्।
शनिबारदेखि सुरू भएको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तामा पुग्ने, सत्तामा अडिरहनेबाहेक गठबन्धनले देश र जनताको पक्षमा केही नगरेको बताएका हुन्।
देशमा विकास निर्माणको काम गरेर आर्थिक समृद्धितर्फ जानेतर्फ सरकारले नसोचेको र रेमिट्यान्सको भरमै देश चलाउन खोजेको उनले आरोप लगाए।
‘देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भइराखेका छन । उनीहरुलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ। रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो,’ उनले भने।
रेमिट्यान्सबाटै देश चलाउन खोज्नु घातक हुने पनि अध्यक्ष ओलीले बताए।
‘कथमकदाचित कुनै हिसावले यदी कुनै दिन रेमिटयान्स बन्द भयो भने रेमिटयान्स नआउने कोभिड जस्तै केही चिज भइदियो भने रिजनल अशान्ति केही सानोतिनो भइदियो भने यो सबै कुरा समाप्त हुन्छ । अस्तव्यस्त हुन्छ । त्यसो भएर त्यो अवस्थामा हामी के गर्छौं ?,’ उनले भने।
ओलीले समृद्धको बाटोमा हिँड्नुपर्नेमा सरकार सत्ता बनाउने र टिकाउने भन्दा पर जान नसकेको आरोप लगाए।
‘हिँडनुपर्ने बाटो एकातिर छ । हिँड्न नहुने बाटो हिँडिएको छ । जानुपर्ने राजनीति एकातिर छ । सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति,’ उनले भने।
उनले जाजरकोटका भूकम्पपीडित अझैपनि प्लाष्टिकमुनि नै रहेको बताए। एमालेका भोलेन्टियर्सले १२/१५ सय घर बनाएकाबाहेक अरू केही नभएको उनले बताए।
‘जाजरकोटमा उसबेला भुइँचालो गयो । सिँगै हिउँद प्लाष्टिक मुनि मानिसहरु बसिरहेका छन् । हाम्रो भोलेन्टियर्सले १२÷१५ सय घर बनाएर त्यत्तिनै हो । अरु केही भएको छैन । कस्तो सरकार होला । केही महिनामा नै यी कामहरु गर्न सकिन्छ । अनि, २/४ वर्ष विधि, प्रक्रिया निर्माण नै लाग्ने हो भने अनि मान्छे त मरिसक्छन् त त्यहाँ,’ उनले भने।
यस्तो अवस्थाको देशलाई ठीक बाटोमा हिँडाउन एमालेबाहेक अरूले नसक्ने ओलीले बताए। (न्युज एजेन्सी नेपालबाट)