नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन्।
नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल कांग्रेस भए पनि सरकारले जनपक्षीय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन्।
जनताका जनजीविकाका सवालहरू बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउँदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरूले स्वयं कार्यसम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको टिप्पणी गरे।
सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनता केन्द्रित मिसन असफल हुनेतर्फ समेत नेता महरले चिन्ता व्यक्त गरेका छन्।
कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उनले चेतावनी समेत दिएका छन्।
कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्नुपर्ने महरको भनाइ थियो।