प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक आइतबार पनि बस्दैछ।
आज बिहान ११ बजेबाट संघीय संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने सांसद ठाकुर गैरेले जानकारी दिए।
एमाले संसदीय दलको बैठक शनिबार मध्याह्न पनि बसेको थियो।
बैठकमा सांसदको भूमिका कसरी प्रभावकारी बनाउने भनेर छलफल भइरहेको र आज पनि त्यही विषय केन्द्रित रहने उनले जानकारी दिए।
हिजोको बैठकमा बोल्दै दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गैरजिम्मेवार बन्दै गएको बताएका थिए। उनले समितिका सभापतिहरूले सत्ताको पृष्ठपोषण गरेको र राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि पनि प्रश्न उठाएका थिए।
‘राजनीतिक हिसाबले गैरजिम्मेवार ढंगले सत्ताखेल चलिराखेको छ। दलीय व्यवस्थाको औचित्य नै समाप्त पार्ने गरी। तपाईंहरूले सुुन्नुभयो होला, नेपाली कांग्रेसका उपसभापति भइसकेका जिम्मेवार नेताले अब स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभयो। नेपाली कांग्रेस अहिले संसद्मा ठूलो पार्टी रहेको छ। त्यो पार्टीको उच्चस्तरीय नेताले दलको होइन स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभयो, राजनीतिक कहाँ पुग्यो?,’ उनले प्रश्न गरे।
उनले नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई कटाक्ष गरेका हुन्। उनले केही दिनअघि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ भनेका थिए।
अध्यक्ष ओलीले २३ वर्षअघि सम्राट अशोकले पनि खुला नगरेको रामग्राम क्षेत्र आफ्नो विकासका लागि लिजमा दिन लागेको भन्दै आलोचना गरेका थिए।
आजको संसदीय दलको बैठकमा सरकारको कामको समीक्षा, सांसदहरूले आउँदो अधिवेशनमा खेल्नुपर्ने भूमिकाबारे छलफल हुने सांसद गैरेले बताए।
यसैबीच एमालेले सरकारविरूद्ध आन्दोलनको तयारी पनि गरिरहेको छ। त्यसका लागि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भइरहेको गैरेले बताए।
पोलिट्ब्युरो सदस्यसमेत रहेका गैरेका अनुसार एमालेको केन्द्रीय कमिटीको बैठक आगामी फागुनको पहिलो साता बोलाउने तयारी छ।