साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरूले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग डुबेको रकम फिर्ताका लागि पहल गरिदिन माग गरेका छन्।
नारायणगढमा थापाले गरेको नागरिक संबाद कार्यक्रममा पुगेका सहकारी पीडितहरुले वचत रकम फिर्ता नहुँदा ठूलो समस्यामा परेको भन्दै सहयोग मागेका थिए।
थापालाई ज्ञापनपत्र बुझाउँदै साहारा चितवन सहकारी पीडित संघर्ष समितिका संयोजक सालिकराम दुवाडीले सहकारी डुबाएर भाग्ने व्यक्तिहरु जुनसुकै राजनीतिक दलका भएपनि नछाड्न आग्रह गरे।
चितवनका विभिन्न सहकारी संस्थाबाट जनताको ५ अर्ब बढी रकम ठगी भएको उनले बताए।
‘मकै पोल्ने, ठेलामा व्यापार गर्नेदेखि ठूलो व्यवसाय गर्ने सबै ठगिएका छन्। यो कुरा संसदमा उठाएर हाम्रो समस्या समाधान गर्न सहयोग गरिदिनुहोला,’ दुवाडीले भने, ‘जुनसुकै दलका नेता यो ठगीमा सहभागी भएपनि कानुनको कठघरामा उभ्याई वचतकर्ताको वचत रकम फिर्ता गर्न पहल गरिदिनुहोला भन्ने अपेक्षा राखेका छौं।’
सहकारी पीडितहरुको कुरा सुनेपछि महामन्त्री थापाले सहकारीको समस्या समाधानका लागि नीतिगत तहबाटै संबोधन गर्न पहल गर्ने आश्वासन दिए। उनले सहकारीको समस्या समाधान गर्ने विषयमा धेरै छलफल भएको र प्रतिवेदनहरू बनेको तर समस्या समाधान हुने गरी काम अघि बढ्न नसकेको बताए।
‘प्रतिवेदनमा पीडितलाई तत्कालका लागि कसरी राहत दिने जस्ता बुँदाहरु पनि छन्। आगामी दिनमा कसरी नियमन अनुगमन गर्ने भन्ने कुराहरु पनि छन्,’ उनले भने, ‘यसलाई कार्यान्वयन गरेर समस्या समाधान गर्नुपर्छ।’ थापाले सहकारीको समस्या केही ठाउँको धेरै सुनिएपनि देशभरै समस्या रहेको पाएको बताए।
‘हामीले मिटर व्याजको समस्या हल गर्ने भनेर कानुन बनायौं तर मधेसतिर त्यो कानुन आएपछि नयाँ तरिका अपनाउन थालिएछ। राजनीतिक दलका मान्छेहरूले नै अड्डा नै खोलेर मैले भनेअनुसार गर्यौं भने मुद्दा मिलाइदिन्छु, नत्र मुद्दा चलेछ भन्न थालेछन्,’ उनले भने, ‘हामीले एउटा नियतले कानुन बनायौं। कतिपय ठाउँमा यो धन्दा सुरु भएको रहेछ।’