सत्ता साँझेदार दल जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा संसदमा प्रभावकारी भूमिका खेल्नेबारे छलफल भएको छ।
आइतबार काठमाडौं मध्यबानेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय बसेको सचिवालय बैठकमा संगठन निर्माण र परिचालनमा केन्द्रित रहेर छलफल भएको पार्टी प्रवक्ता शरद सिंहले जानकारी दिए।
‘खासगरी अहिले वडा अधिवेशनमा छौं हामी। वडाको अधिवेशन सकिन लागेको अवस्थामा छलफल भएको छ। साथै भोलिदेखि हुने संघीय संसद्को हिउँदे अधिवेशनबारे पनि कुराकानी भयो। संसदमा जनमत पार्टीले कसरी प्रभावकारी भूमिका देखाउने भनेर पनि छलफल भयो,’ उनले भने।
आइतबारको बैठकमा मधेश प्रदेशको सरकारबाट पार्टी बाहिरिएको विषयमा पनि छलफल भएको उनले बताए।
‘मधेस प्रदेशबाट सरकारबाट हामी बाहिरिएका छौं, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ। संघीय सरकारमा सहभागिताको विश्लेषण र काम कारबाहीबारे पनि समीक्षा हुँदैछ,’ उनले भने।
मधेश प्रदेशको सरकार एक वर्ष जसपाले नेतृत्व गर्ने, त्यसपछि जनमतले र कांग्रेसले चलाउने सहमति उल्लंघन भएको उनले बताए।