लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाएको छ।
आइतबार प्रदेश सभा सरकारले राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको एक कार्यक्रमबीच स्थापना दिवस मनाएको हो।
प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई लुम्बिनी प्रदेश स्थापनाको मान्यता दिँदै सातौं स्थापना दिवस मनाएको हो।
लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो।
यस वर्ष दुई वटा दिवसलाई एकैदिन मनाउने गरी सरकारले निर्णय गरेको थियो। प्रमुख प्रतिपक्ष दल एमालेले भने फागुन ३ सरकार गठन भएको दिनको इतिहासबाट मेटाउन खोजेको भन्दै असन्तुष्टि प्रकट गरेको थियो।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेशबाट धेरै कुराहरू सिक्न सक्ने बताएका छन्। यस्तै संविधानमा लेखिका अधिकारहरू प्रदेश तहमा आइनपुगेकाले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी भूमिका खेल्न आवश्यक रहेको पनि उनले बताए।
संघीयताले सबै जातजाति, धर्म-संस्कृतिलाई जोड्न सफल भएको बताउँदै अब संघीयताबाटै मुलुकको विकास सम्भव रहेको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए। संघीयता भनेकै विविध संस्कृति बीचको एकता रहेको उनले बताए।